छानबिनका लागि अझै तयार भएनन् रवि, “एकपटक बोल्न त दिनुस्, छानबिन समितिको दोकान तत्काल बन्द हुन्छ”



ममाथि लागेका संगीन आरोपहरुबारे एक पटक बोल्नसमेत नदिने अनि तपाईंको आदेश मैले मान्नुपर्ने ? दुई महिना निरन्तर गाली गर्ने, झुठा आरोप लगाउने, मिडिया खेलाउने अनि एक पटक बोल्न पाउँ भन्दा संसदमा बाटो छेक्ने ? घेराउ गर्ने ? अझ डारायो भन्ने ?

काठमाडौं । गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेले आफू संसदीय छानविन समितिसँग नडराएको प्रतिक्रिया दिएका छन् । साथै नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई लक्षित गर्दै एक पटक बोल्न पाए संसदीय छानबिन समिति मागको ‘दोकान बन्द गरिदिने’ चेतावनी दिएका छन् ।

शुक्रबार दिउँसो संसद्‍मा नेपाली कांग्रेसका सांसद गगन थापाले संसदीय छानबिन समितिको माग गरेपछि छानबिन समिति नबनेसम्म संसद अवरुद्ध गर्ने भन्दै कांग्रेसका सांसदहरुले संसदमा अवरोध गरेका थिए ।

कांग्रेसका सांसदको अवरोधका कारण गृहमन्त्री लामिछानेले शुक्रबारको संसदमा बोल्न पाएका थिएनन् । तर शुक्रबार राति उनले कांग्रेसलाई लक्षित गर्दै आफूले सहकारीबाट फारम भरेर ऋण लिएको प्रमाण बाहिर आए राजनीति छाडिदिने चेतावनी दिएका छन् ।

उनले ट्विटरमा कांग्रेसप्रति लक्षित गर्दै भनेका छन्, “कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैंले फारम भरेर उक्त सहकारी बाट ॠण मागेको/लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु। प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार हो? किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइँदैन। म संसदीय छानबिनसँग र तपाइँहरुको देश डुबाउने राजनीतिसँग डराएको छैन, तर मलाई मात्र एक पटक बोल्न दिन तपाईँहरु चाहिँ किन डराएको ? डर र रबि लामिछाने एकै ठाउँमा बस्दैनन् थापाजी । एक पटक बोल्न त दिनुस्, संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुन्छ।”

यद्यपि गृहमन्त्री लामिछानेले संसदीय छानबिन समिति गठन गर्नका लागि मार्ग प्रसस्त भने गरेका छैनन् । उनले छानबिन समिति बनाउनका लागि आफू तयार भएको उल्लेख भने गरेका छैनन् ।

“तपाईँहरुलाई सहकारी पीडितको मुद्दासँग कुनै सरोकार छैन, तपाईँहरुलाई केवल मलाई बदनाम गराउनु छ। हेक्क राख्नुस्, म पनि यो सर्वभौम संसदको सर्वाधिक मतप्राप्त जननिर्वाचित प्रतिनिधि हुँ। ममाथि लागेका संगीन आरोपहरुबारे एक पटक बोल्नसमेत नदिने अनि तपाईंको आदेश मैले मान्नुपर्ने ? दुई महिना निरन्तर गाली गर्ने, झुठा आरोप लगाउने, मिडिया खेलाउने अनि एक पटक बोल्न पाउँ भन्दा संसदमा बाटो छेक्ने ? घेराउ गर्ने ? अझ डारायो भन्ने ? यही हो कांग्रेसको लोकलन्त्र ?” लामिछानेले आफ्नो ट्विटरमा लेखेका छन् ।


क्लिकमान्डु