सिमेन्टको बोरामा मूल्य र तौल उल्लेख गर्न विभागको निर्देशन, नगरे कारबाही



काठमाडौं । उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्ट उत्पादक कम्पनीहरुलाई उपभोक्ता मूल्य (एमआरपी) सहितको विवरण उल्लेख गरी लेबल लगाएर मात्रै सिमेन्ट विक्री गर्न निर्देशन दिएको छ ।

विभागले सिमेन्ट उद्योग संघ र उत्पादक कम्पनीहरुका नाममा छुट्टाछुट्टै सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

सिमेन्ट उत्पादकहरुका नाममा विभागले जारी गरेको सूचनामा लेखिएको छ, “उपभोक्ता संरक्षण ऐन, २०७५ को परिभाषा खण्डले उत्पादन गर्दा मूल्य तोक्नुपर्ने, लेवलमा मूल्य तोक्नुपर्ने, अधिकतम खुद्रा विक्री मूल्य (एमआरपी) तोक्नुपर्ने तथा उत्पादकले स्रोतमै मूल्य तोक्नुपर्ने गरी वस्तुको मूल्य निर्धारणको सिद्धान्त तय गरेको छ। उपरोक्त ऐनले उत्पादकको दायित्व अन्तर्गत वस्तुको लेवल निर्धारण गर्ने र लेवलमा सबै प्रकारका लागत र कर समावेश गरी हुन आउने अधिकतम खुद्रा विक्री मूल्य, व्याच नम्बर, उत्पादन मिति र उपभोग्य अवधि तोक्नुपर्ने व्यवस्था गरेको छ। लेवलमा उल्लेख गर्नुपर्ने कुरा उल्लेख नगरी उत्पादकको दायित्व पूरा नगरेको कारण त्यस्तो वस्तु वा सेवा उपभोग गर्दा कसैको जीउ, ज्यान, सम्पत्तिमा हानि नोक्सानी भएमा त्यस्तो हानि नोक्सानी वापत त्यस्तो वस्तु वा सेवाको उत्पादक जिम्मेवार हुनेछ भनी तोकेको छ।”

यस्तै केही सिमेन्ट उत्पादकले सिमेन्टको बोरामा अनिवार्य रुपले लेखिनुपर्ने बोरा बाहेकको खुद तौल, उपभोग्य मिति र अधिकतम खुद्रा विक्री मूल्य नतोकेको उजुरी प्राप्त भएको पनि विभागले उल्लेख गरेको छ । तर यस्ता मापदण्ड पालना नभएको अवस्थामा कानुनी कारबाही गर्ने पनि विभागले चेतावनी दिएको छ ।


क्लिकमान्डु