राष्ट्रपतिको यूरोप भ्रमणको रद्द टिकटलाई ५५ लाख भुक्तानी, ‘होटलले लिएनन्, एयरलाइन्सले छोडेनन्’




काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणको तय भएपछि रद्द भएको टिकटको लागि ५५ लाख २२ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

पौडेलेको एक प्रतिनिधिमण्डल फ्रान्सको पेरिस पीस फोरम, जर्मनी र इटलीको भ्रमणमा जाने तय भएको कार्यक्रम रद्द हुँदा टिकटको पैसा भने तिर्नुपरेकोले उक्त रकम भुक्तानीका लागि अर्थ मन्त्रालयले ५५ लाख २२ हजार भुक्तानीका लागि रकमान्तर गरेको विवरण सार्वजनिक गरेको छ ।

२०८० कात्तिकमा राष्ट्रपति पौडेल युरोप भ्रमण जाने भनिएपछि उक्त कार्यक्रम स्थगित भएको थियो । कार्यक्रम रद्द भएपनि हवाई टिकट बुकिङ गरिसकेकोले त्यसको भुक्तानी भने गर्नुपरेकोले रकमान्तर गरेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको गत चैत महिनामा भुक्तानी गरिएको सार्वजनिक विवरणमा उल्लेख छ । राष्ट्रपति पौडेलको युरोप भ्रमण २०८० कात्तिक २२ गतेदेखि मंसिर १ गतेसम्मलाई तय गरिएको थियो ।

पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा सहभागी हुन पहिलो फ्रान्स जाने कार्यक्रम बनेको थियो । फ्रान्सपछि जर्मनी र इटालीको भ्रमण गरी मंसिर १ गते स्वदेश फर्कने राष्ट्रपति पौडेलको कार्यक्रम थियो ।

भ्रमणको सम्पूर्ण तयारी गरिएको थियो भने सम्बन्धित देशमा यात्रा गर्न र बस्नको लागि हवाई टिकट र होटल बुकिङ गर्ने काम समेत भइसकेको थियो । २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले ठूलो जनधनको क्षति भएको र उक्त दुखत् घडीमा राष्ट्र प्रमुखको विदेश भ्रमण अनुयुक्त भन्दै रद्द भएको थियो ।

राष्ट्रपतिको भ्रमण तय भएपछि सम्बन्धित देशमा होटल बुकिङ गरिएको थियो । अन्तिम समयमा भ्रमण स्थगन गर्नुपरेकोले तय भइसकेको टिकटको पैसा तिर्नुपरेको मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रपति बस्ने तय भएका होटलहरुले भने पैसा लिएनन्। तर एयरलाइन्सले भने नछोडेको अर्थ मन्त्रालय स्रोतको भनाइ छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को युगाण्डा भ्रमणका क्रममा एक करोड २६ लाख ६० हजार रुपैयाँ खर्च भएको विवरण अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । प्रधानमन्त्री प्रचण्ड असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनमा सहभागी हुन माघ ४ गते युगाण्डा गएका थिए । उनी माघ ७ गते स्वदेश फर्किएका थिए ।


क्लिकमान्डु