रियलमी ब्राण्डको स्मार्टफोन बेच्ने जगदम्बा मोबाइलको व्यापार १८% ले घट्यो, पौने ३ अर्बको कारोबार



काठमाडौं । नेपाली बजारमा रियलमी ब्राण्डको स्मार्टफोन बेच्ने जगदम्बा मोबाइलको व्यापार १८ प्रतिशतले घटेको छ । शंकर ग्रुपद्धारा सञ्चालित कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा १८ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२२ मा ३ अर्ब २४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२३ मा २ अर्ब ७६ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ ।

सन् २०११ मा स्थापना भएको कम्पनी रियलमी स्मार्टफोन र रियलमी मोबाइल टेलिकम्युनिकेसन (भारत) सामग्रीको आधिकारिक विक्रेता हो । कम्पनीले स्मार्टफोनसहित सफारी लगेज र बोउल्ट अडियो डिभाइसको व्यापार गर्दै आएको छ ।

सुलभ अग्रवाल अध्यक्ष रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि ९० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीअनुसार सन् २०२२ मा २५०० प्रतिशतले व्यापार बढेको थियो । तर, सन् २०२३ मा तरलता अभाव र अर्थतन्त्रमा देखिएको समस्याका कारण बजारको मागमा कमी आउँदा व्यापार १८ प्रतिशतले घटेको उल्लेख छ ।

त्यसैगरी कम्पनीले सन् २०२३ मा ५.०४ प्रतिशतले नाफा कमाएको छ । सन् २०२२ मा २.७४ प्रतशितले नाफा कमाएको थियो । कम्पनीले भारतबाट स्मार्टफोन आयात गरेर नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।


क्लिकमान्डु