अमेरिकामा प्रतिबन्धको खतरामा रहेको टिकटकले रोयल्टी विवाद मिलायो



एजेन्सी । टिकटक र युनिभर्सल म्युजिक ग्रुपबीचको विवाद सुल्झिएसँगै अब टिकटकले दसौं लाख गीतहरु प्लेटफर्ममा रिस्टोर गर्न पाउने भएको छ । टिकटक र युनिभर्सल म्युजिक ग्रुपबीच रोयल्टीको विषयलाई लिएर लामो विवाद रहँदै आएको थियो ।

प्रसिद्ध गायकहरु बिली एलिस र एरिना ग्रान्डसहितका गीतहरुमा अब टिकटकरहरुले भिडियो फिचरिङ गर्न सक्नेछन् । टिकटकले गायकहरुलाई रोयल्टी नदिएपछि युनिभर्सल म्युजिक ग्रुपले टिकटकबाट प्रसिद्ध कलाकारहरुका गीत झिकेको थियो।

हाल टिकटकले गायकहरुलाई रोयल्टी दिने भएपछि विवाद समाधान भएको हो । तर कलाकारहरुले कति रोयल्टी प्राप्त गरेको भनी सार्वजनिक गरेका छैनन् । युनिभर्सल म्युजिक ग्रुपका प्रमुख लुसियान ग्रेङजले टिकटक परिवर्तनका लागि तयार भएको प्रतिक्रिया दिएका छन् । “नयाँ सम्झौता अनुसार कलाकार, सर्जकहरुको क्षतिपुर्ति हाम्रो पहिलेको सम्झौताभन्दा धेरै हुनेछ,” उनले भनेका छन् ।

यससँगै युनिभर्सल म्युजक ग्रुपमका गीतहरु टिकटकमा फिर्ता गर्नका लागि काम भइरहेको पनि बताइएको छ । ग्रेन्जका अनुसार अबको २ हप्तामा यो प्रक्रिया सकिनेछ । जसअनुसार विवादको क्रममा टिकटकमा म्युट गरिएका म्युजिक अडियो र भिडियोहरु अब रिस्टोर गरिने छ ।

टेलर स्विफ्टले भने यसअघि नै टिकटकसँग सम्झौता गरी आफ्ना गीतहरु फिर्ता गर्न सहमत भइसकेकी छन् । टिकटकका प्रमुख शो जी सूले भने युनिभर्सल म्युजिक ग्रुपसँग सम्झौता गर्न पाएकोमा आफूहरु खुसी भएको प्रतिक्रिया दिएका छन् । “संगीत टिकटक दुनियाको अभिन्न अंग हो । र युनिभर्सल म्युजिक ग्रुपसँग नयाँ शीराबाट अगाडि बढ्न पाउँदा हामी खुसी छौं,” उनले भनेका छन् ।

अमेरिकी सरकारबाट टिकटक प्रतिबन्धको खतरामा रहेका बेला त्यहाँका कलाकारहरुसँग भने यसले रोयल्टी सम्बन्धी नयाँ सहमति गरेको हो ।


क्लिकमान्डु