एप्पलको बिक्री तीन महिनामा १० प्रतिशतले घट्यो



एजेन्सी । एप्पलको बिक्री विश्वभर नै घट्न थालेको बताइएको छ । कम्पनीले हालै २०२४ को पहिलो तीन महिनाको रिपोर्ट सार्वजनिक गर्दै यस अवधिमा १० प्रतिशतले माग घटेको जनाएको छ । युरोप वाहेक अन्य सबै क्षेत्रमा ब्यापार घटेको रिपोर्टमा जनाइएको छ ।

कम्पनीको रेभेन्यु यस अवधिमा ४ प्रतिशत घटेर ७२.५ बिलियन पुगेको पनि एप्पलले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । एक वर्षभन्दा बढीको समयमा यो सबैभन्दा ठूलो गिरावट हो ।

यद्यपि न्युयोर्कमा एप्पलको सेयर बढेको भन्दै यो परिणाम अपेक्षा गरेजस्तो कम नभएको बताइएको छ । यस्तै कोरोना महामारी सम्बन्धी वितरण अवरोधका कारण कम्पनीको ब्यापार नतिजा बिग्रिएको कम्पनीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । जवकि गत वर्ष सोही अवधिमा एप्पलले ब्यापार बलियो बनाएको थियो ।

तर कम्पनीले एआईमा लगानी तथा उत्पादनलाई लक्षित गर्दै आगामी महिनाहरुमा ब्यापारको गति सामान्य रुपमा फर्किने पनि अपेक्षा गरेको छ ।

यससँगै सबैभन्दा ठूलो बजार रहेको चीनमा पनि एप्पलको ब्यापार घटेको थियो । जहाँ ८ प्रतिशतले बिक्रीमा गिरावट आएको छ । एप्पलका सिईओ टिम कुकले रिपोर्ट सार्वजनिक गर्दै दिर्घकालीन रुपमा चीनको बारेमा राम्रो दृष्टिकोण राख्ने प्रतिक्रिया दिएका छन् । साथै चीनको प्रमुख बजारमा आईफोनको बिक्री बढेको पनि सिईओ कुकको भनाइ थियो ।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमा हुवाए जस्ता स्थानीय कमपनीहरुसँग एप्पलले प्रतिस्पर्धा गरिरहेको छ । यसबीचमा एप्पलले आफ्नो एप स्टोर शूल्कको विषयलाई लिएर अमेरिका र युरोपमा नियामक निकायहरुसँग कानुनी संघर्ष गर्नुपरेको छ ।

एप्पलका फाइनान्स चिफ लुका माएस्ट्रीले एप्पलको बिक्री जुनसम्म बिक्री बढ्ने अपेक्षा गरिएको बताएका छन् । यस क्रममा कम्पनीको सेवा व्यवसायमा दोहोरो अंकले वृद्धि हुने अपेक्षा गरिएको बताए ।


क्लिकमान्डु