उपहार बहुउद्देश्यीय सहकारीबाट ८ जनाले ठगे बचतकर्ताको साढे २ करोड, ३ जना पक्राउ



काठमाडौं । काठमाडौंको सुकेधारामा रहेको उपहार बहुउद्देश्यीय सहकारीले ११५ जना बचतकर्ताको २ करोड ६३ लाख ८४ हजार ९८१ रुपैयाँ बचत ठगी गरेको पाइएको छ ।

उक्त बचत रकम ठगी गर्ने सहकारीका ८ जनामध्ये प्रहरीले ३ जनालाई पक्राउ गरेको छ भने ५ जना फरार रहेका छन् । प्रहरीले अनुसन्धान सकेर उक्त रकम माग दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

बचतकर्ताको बचत अपचलन गरेर फरार हुनेमा सहकारीका अध्यक्ष पर्वत पकुवा-४ का अर्जुन बम मल्ल रहेका छन् । सदस्यहरु काठमाडौं ३१ की बिनिता पौडेल, काठमाडौं-४ सुकेधाराका अशोक कुमार केसी, सोही स्थानका पासाङ छिरिङ शेर्पा र सहकारीका कर्मचारी धनुषा जिल्ला मिथिला नगरपालिका १० की राधिका गिरी फरार रहेका छन् ।

यस्तै सहकारीका उपाध्यक्ष लवप्रसाद अर्याय, सहकारीका कोषाध्यक्ष काठमाडौं ४ का राजाराम बस्नेत र सोही स्थानका सचिव अच्युत प्रसाद नेपाल पक्राउ परेका छन् ।

उनीहरुले बचतकर्तालाई धेरै ब्याज दिने प्रलोभन देखाएर ठगी गरेको पीडित बचतकर्ताको दाबी छ । उक्त सहकारीमा उपाध्यक्ष र प्रबन्ध निर्देशक एकै व्यक्ति लवप्रसाद अर्याय रहेका थिए । सहकारीले बचतकर्ताको रकम बिना धितो लगानी गरेको पाइएको छ ।


क्लिकमान्डु