पोखरा विमानस्थल खुल्यो, तुम्लिङटारमा बाह्र दिनदेखि उडान ठप्प



काठमाडौं । कम भिजिविलिटीका कारण पोखरा विमानस्थलबाट अवरुद्ध भएको विमान उडान शनिवार दिउँसोदेखि सुचारु भएको छ ।

विमान उडानका लागि आवश्यक पर्ने भिजिविलिटीमा सुधार आएपछि शनिबार दिनको ३ बजेर ४३ मिनेटबाट बुद्ध एयरले पोखरा विमानस्थलबाट उडान भर्न सुरु गरेको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए । बिहिबार र शुक्रबार पोखरा विमानस्थलबाट विमानहरुले उडान भर्न सकेका थिएनन् ।

भिजिविलिटीमा समस्या आएका कारण बुद्ध एयरले गत् शुक्रबार र शनिबार एउटा पनि उडान पोखरा विमानस्थलबाट भर्न पाएको थिएन् । गत आइतरबार दिउँसो साढे १ बजेपछि मौसममा सुधार आएपछि त्यो दिन ६ वटा उडान भरेको थियो । सोमबार र मंगलबार पनि बुद्ध एयरले त्यहाँबाट एउटै उडान भर्न सकेको थिएन ।

बुधबार दिउँसो १ बजेदेखि मौसममा सुधार भएपछि त्यो दिन ५ वटा उडान भरेको थियो । नियमित कार्यतालिकाअनुसार विमानले उडान भर्न नसक्दा आन्तरिक र बाह्य यात्रुहरु निक्कै सास्ती व्यहोर्न बाध्य भएका थिए ।

तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प

सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ ।

विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो । वैशाख १० गतेपछि बाक्लो तुवाँलोले विमानस्थल वरपरको डाँडा ढाकेपछि हवाई सेवा अवरुद्ध भएको हो । मौसम प्रतिकूल भएपछि निजी कम्पनीका विमानले तुम्लिङटारमा उडान भर्न नसकेको बुद्ध एयरका राजीव पोखरेलले जानकारी दिए ।

उनका अनुसार जनवरी यता ४४ पटक उडान रद्द भएको छ । तुम्लिङटार विमानस्थलमा उडान नभएपछि दैनिक ६५ भन्दा बढी यात्रु अलपत्र पर्ने गरेका छन् । उडान अवरुद्ध भएपछि सङ्खुवासभा, भोजपुर, धनकुटाका यात्रु प्रभावित भएका छन् । तुम्लिङटार विमानस्थल पहाडी तथा हिमाली जिल्लाको बढी यात्रु हुने विमानस्थलमध्ये एक हो ।

उडानका लागि कम्तीमा पाँच किलोमिटर भिजिबिलिटी आवश्यक पर्नेमा अहिले एक किलोमिटर मात्र भिजिबिलिटी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । तुम्लिङटार विमानस्थलमा बुद्धको एटिआर–७२ ले दैनिक उडान भर्दै आएको थियो ।

धावनमार्गको स्तरोन्नति भएसँगै गत वर्षदेखि बुद्ध एयरको एटिआर ७२ सिटको जहाजले दैनिक उडान गर्न थालेको थियो । विश्वकै पाँचौं अग्लो हिमाल मकालु, अरुण तेस्रो जलविद्युत् आयोजना, पर्यटकका लागि छोटो दूरीको उडानका कारण यहाँ यात्रुको भीडभाड हुने गर्छ ।


क्लिकमान्डु