१९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी छ: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षका लागि १८ देखि १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।

माओवादी केन्द्रको संसदीय दलको बैठकलाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उनले बजेट सिलिङ बनिसकेको र त्यसको तयारीमा लागिपरेको बताएका छन् ।

बैठकमा सहभागी एक सदस्यका अनुसार प्रधानमन्त्री प्रचण्डले जनतालाई आशा भरोसा जगाउने खालको बजेट ल्याउने तयारी गरेको जानकारी गराएका छन् ।

दलका सांसदहरूलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘बजेटको सिलिङ बनिसकेको त छ तर सिलिङ केही बढ्छ, अहिले त्यसको तयारी भइरहेको छ । १८ खर्बको बजेट ल्याउने निश्चित भए पनि त्यसमा थप एक खर्ब बढ्न सक्छ । जनतालाई आशा र भरोसा बढाउने लोकप्रिय बजेट बनाउनका लागि आवश्यक तयारी गरिरहेका छौँ ।’

उनले बजेट निर्माण गर्दा कृषिमा आधारित उद्योगलाई प्राथमिकता दिनका लागि पनि आफूले निर्देशन दिएको जानकारी गराएका छन् । साथै दलका सांसदहरूलाई नीति तथा कार्यक्रम र बजेट रचनात्मक, प्रभावकारी बनाउनका लागि सुझाव समेत मागेका छन् ।


क्लिकमान्डु