सार्वजनिक संस्थाहरु नाफामा गए, अर्थतन्त्रका सूचक सकारात्मक दिशातिर: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरु नाफामा गएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा पर्यटक आगमनको उल्लेख्य वृद्धि भएको बताए ।

उनले हालै सम्पन्न लगानी सम्मेलनमा उत्साहवद्र्धक रुपमा विदेशी लगानीकर्ताहरुको सहभागिताले फेरि नेपाललाई विकासको गति दिने आधार तय भएको उल्लेख गरे । आफूले नेतृत्व सम्हाल्दै गर्दा देशको आर्थिक स्थिति र अहिलेको देशको आर्थिक स्थितिमा धेरै सुधार भएको प्रधानमन्त्रीको भनाइ थियो ।

शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजश्व संकलनमा सुधार जस्ता कारणले अर्थतन्त्रका सूचकहरु बिस्तारै सकारात्मक दिशातिर अघि बढेको प्रधानमन्त्रीको भनाइ छ ।

वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता ल्याइ लगानीको वातावरण सिर्जना गरिएको, बैंकको ब्याजदर घटाइएको र लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको उनले बताए ।सार्वजनिक संस्था र संस्थान व्यवस्थापना सुधार सुरु गरिएको प्रधानमन्त्रीको भनाइ छ ।

‘मैले नेतृत्व सम्हाल्दै गर्दा देशको आर्थिक स्थिति के थियो ? तपाईं हामी कुन सन्त्रासमा गुज्रिएका थियौँ भन्नेकुरा हामी सबैलाई थाहा छ । तर अहिले क्रमशः सुधार आइसकेको छ,’ प्रधानमन्त्रीले भने, ‘शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजश्व संकलनमा सुधार जस्ता कारणले अर्थतन्त्रका सूचकहरु बिस्तारै सकारात्मक दिशातिर अघि छन् । वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता ल्याइ लगानीको वातावरण सिर्जना गरिएको छ । बैंकको ब्याजदर घटाइएको छ । लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको छ । सार्वजनिक संस्था र संस्थान व्यवस्थापना सुधार गरिँदैछ । नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरु नाफामा गएका छन् । नेपालमा पर्यटक आगमनको उल्लेख्य वृद्धि भएको छ । भर्खरै हामीले सम्पन्न गरेको लगानी सम्मेलन र त्यहाँ उत्साहवद्र्धक झन्डै ६० देशका प्रतिनिधिहरुको सहभागिताले फेरि नेपाललाई विकासको गति दिने आधार तय भएको छ ।’

प्रधानमन्त्री दाहालले मिडिया सम्बन्धी कानून निर्माणको प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको उनले बताए । सरकारले सञ्चार क्षेत्रको व्यवसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र संवद्र्धन गर्ने नीति लिएको उनले बताए ।

ज्येष्ठ पत्रकार, अपाङ्गता भएका पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था गर्न लागेको प्रधानमन्त्रीले जानकारी दिए । प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा अंकुश हुन नदिने प्रतिवद्धता उनले जनाए ।


क्लिकमान्डु