नगरकोटमा रहेको होटल मिस्टिक माउन्टेनले एकै वर्ष गर्‍यो ३३ करोडको व्यापार



काठमाडौं । नगरकोटमा रहेको चारतारे होटल मिस्टिक माउन्टेनले एकै वर्ष ३३ करोड रुपैयाँको व्यापार गरेको छ । होटलले सन् २०२३ मा ३३ करोड रुपैयाँको व्यापार गरेको हो।

होटलले सन् २०२२ मा २५ करोड २० लाख रुपैयाँ, सन् २०२१ मा ९ करोड ३० लाख रुपैयाँ, सन् २०२० मा १४ करोड ८० लाख रुपैयाँ र सन् २०१९ मा २२ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१७ देखि ३३ कोठाको सुविधासहित व्यवसायिक कारोबार सुरु गरेको होटलले हाल ७२ कोठाको सुविधा दिँदै आएको छ । काठमाडौंबाट ३० किलोमिटरको दूरीमा रहेको होटल ५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

बालकृष्ण धोजुको स्वामित्व रहेको होटलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५६ करोड रुपैयाँको रेटिङ गराएको छ । होटलअनुसार सन् २०२२ र २०२३ मा सकारात्मक नाफा बसेको उल्लेख छ । सन् २०२१ मा कोभिडका कारण व्यापारमा कमी आएको थियो । तर सन् २०२२ र २०२३ मा उच्च व्यापार भएको जनाएको छ ।

सन् २०२३ मा होटलको अकुपन्सी क्षमता ७३ प्रतिशत रहेको जनाएको छ । साथै सन् २०२२ मा प्रतिकोठाको कारोबार मूल्य ३ हजार ९ सय रुपैयाँ रहेकोमा सन् २०२३ मा बढेर ६ हजार ३ सय पुगेको होटलले जनाएको छ ।


क्लिकमान्डु