लगानी सम्मेलनले उत्साहित बनाएको निजी क्षेत्रको प्रतिक्रिया



काठमाडौं । दुईदिन सञ्चालन भएको तेस्रो लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिवद्धताबाट नेपालको निजी क्षेत्र उत्साहित भएको छ ।

सरकारले आयोजना गरेका विगतका दुई लगानी सम्मेलनभन्दा अहिलेको लगानी सम्मेलन सफल र फलदायी भएको भन्दै निजी क्षेत्र उत्साहित भएको हो । लगानी सम्मेलनमा सरकारले निजी क्षेत्रलाई सह–आयोजकको रुपमा सँगै लिएर जाँदा निजी क्षेत्र सन्तुष्ट देखिएको छ ।

तेस्रो लगानी सम्मेलनमा करिब ९ अर्बभन्दा बढीको लगानी स्वीकृत भएको छ । नेपालमा अब लगानीको ठूलो सम्भावना रहेको सन्देश विश्वमा पुगेको भन्दै अब मुलुकको आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने वातावरण बन्ने अपेक्षा निजी क्षेत्रको छ ।

व्यवसायीहरुले विगतका लगानी सम्मेलनमा सन्तोषजनक प्रतिफल लिन नसकेको भए पनि अहिलेको लगानी सम्मेलनमार्फत प्रतिफल समेत प्राप्त हुने आशा निजी क्षेत्रको छ ।

सरकारले लगानी सम्मेलनको मुखमा निजी क्षेत्रले माग गरे अनुसार विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउनको लागि केही कानूनहरु संशोधन समेत गरेकाले थप आशा जागेको उनीहरुको भनाइ छ।

सरकारले लगानी प्रवर्द्धन तथा सहजता बनाउनको लागि प्रतिवद्ध रहेको सन्देश दिन सकेकाले पनि विगतको भन्दा यो लगानी सम्मेलन उत्साहका साथ सफल भएको निजी क्षेत्रको दाबी छ । देशको अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्रलाई साथमा लिएर हिँड्ने सरकारी घोषणा र नेपालमा लगानी गर्न तयार रहेको विदेशी लगानीकर्ताको घोषणापछि निजी क्षेत्र उत्साहित बनेको देखिन्छ ।

सरकारले कानून संशोधन मात्रै भन्दा पनि कार्यान्यनमा पनि तदारुकता देखाउन आवश्यक रहेको निजी क्षेत्रको भनाइ छ ।

उनीहरुले सरकारले लगानी सम्मेलनमा आएका प्रतिवद्धतालाई सदुपयोग गर्नेगरी भावी दिनमा काम गर्नुपर्नेमा जोड दिए । तर विगतका लगानी सम्मेलनमा भएका प्रतिवद्धता अनुसार काम नदेखिएकाले थप चुनौतीपूर्ण छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई सहआयोजक बनाएर गरेको लगानी सम्मेलनमा निजी क्षेत्रको पनि स्वामित्व रहेको बताए ।

विगतका लगानी सम्मेलनभन्दा यो केही फरक भएकाले प्रतिफल आउने गरी सम्पन भएको दाबी ढकालको छ । स्वदेशी तथा विदेशी लगानीको लागि बाधक रहेका पुराना कानुनहरुलाई सरकारले संशोधन गरेकाले आशा जगाएको उनले बताए ।

निजी क्षेत्रले दिएका सबै सुझावका आधारमा कानुनहरुलाई संशोधन गरेकाले लगानीको प्रतिवद्धता जनाउन लगानीकर्तालाई सहज भएको ढकालको भनाइ छ ।

‘विगतका लगानी सम्मेलनभन्दा यो केही फरक भयो । किन भन्दा पुराना कानूनहरु जुन स्वदेशी तथा विदेशी लगानीको लागि बाधकका रुपमा रहेका थिए । ती कानूनहरुलाई सरकारले निजी क्षेत्रले दिएका सबै सुझावलाई कार्यान्वयन नगरे पनि केही मुख्य कानूनहरुलाई संशोधन गरेको छ,’ ढकालले भने, ‘लगानी सम्मेलनको मुखमा आएर बीआईए गर्नसक्ने ऐन मन्त्रिपरिषद्‍बाट पास भयो । त्यसले सरकार लगानी प्रवद्र्धनमा प्रतिवद्ध छ भन्ने स्पष्ट भएको छ ।’

भारत,चीन लगायतका मुलुकबाट आएका प्रतिनिधिहरुले धेरै क्षेत्रमा लगानीको सम्भावना रहेको बताएकाले आगामी दिनमा लगानी आउने थप वातावरण बनेको ढकालले विश्वास लिए ।

सरकारको मात्रै नभएर सरकार बाहिरका राजनीतिक दलहरुको समेत आर्थिक एजेण्डा र लगानी बढाउने कुराहरुमा एक ठाउँमा उभिएकाले सम्मेलन सफल भएको उनको दाबी छ । उनले नेपालमा लगानीको सम्भावना र आकर्षण रहेको सन्देश सबैतिर गएको बताए ।

‘नेपालमा लगानीको सम्भावना र आकर्षण रहेको सन्देश सबैतिरबाट गएको छ,’ अध्यक्ष ढकालले भने, ‘ समग्रमा लगानी सम्मेलनले विश्वमा नेपालमा लगानीको सम्भावना छ भन्ने सन्देश गएको छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले समग्रमा लगानी सम्मेलनले राम्रो सन्देश दिएको बताइन् ।

लगानी सम्मेलनमा सरकारले निजी क्षेत्रका माग अनुसार केही कानूनलाई संशोधन गरेर लगानीको वातावरण बनाउने प्रतिवद्धता जनाएकोले आफूहरु उत्साहित भएको उनको भनाइ छ ।

निजी क्षेत्रले माग गरेको ऐनहरु सरकारले संशोधन गरेर लगानीको वातावरण बनाउन सरकार प्रतिवद्ध छ भनेर लगानीकर्ताहरुलाई राम्रो सन्देश दिन सकिएको पूर्वअध्यक्ष राणाले बताइन् ।

‘समग्रमा लगानी सम्मेलनले राम्रो सन्देश दिएको छ,’ उनले भनिन्, ‘लगानी सम्मेलनमा सरकारले निजी क्षेत्रका माग अनुसार केही कानूनलाई संशोधन गरेर लगानीको वातावरण बनाउने प्रतिवद्धता जनाएर कानून संशोधन गरेको छ । निजी क्षेत्रले माग गरेको ऐनहरु सरकारले संशोधन गरेर लगानीकर्ताहरुलाई राम्रो सन्देश दिनसक्यौं ।’

सरकारले प्रस्तुत गरेका आयोजनाहरुमा लगानीको प्रतिवद्धता लगायत केहीमा सम्झौता पनि भएको उनले बताइन् । उनले सरकारले गरेको कोभिड पछिको लगानी सम्मेलन विगतकोभन्दा सफल भएको पनि दाबी गरिन् ।

सरकार र निजी क्षेत्रले सोचे जस्तो लगानी सम्मेलन सफल भएको उनको दाबी छ ।

लगानी सम्मेलनमार्फत टेक्नोलोजी,जलविद्युत र कृषि क्षेत्रमा विभिन्न सम्झौता समेत भएकाले नेपाल लगानीको आकर्षण बन्न सफल भएको राणाको भनाइ छ ।

नेपालमा भएका स्रोतहरुलाई लगानीमा परिणत गर्न सक्नुपर्ने भन्दै ठूला पूर्वाधारमा लगानीको आवश्यकता देखिएको र विदेशी लगानीकर्ताको चासो पनि त्यसैमा रहेको उनले बताइन् ।

लगानी सम्मेलनमा ठूला लगानीसँगै लघुघरेलु उद्योग क्षेत्रमा समेत लगानीको कुरा भएकाले त्यसमा जिटुजीमार्फत संयुक्तहरुमा लगानीको वातावरण बन्ने अवस्था बनेको राणाको भनाइ छ ।

‘नेपालमा ठूला पूर्वाधारमा लगानीको आवश्यकता छ । त्यसको लागि काठमाडौंमा मेट्रो रेलका कुरा पनि भएको छ । भारतका लगानीकर्ताहरु त्यसको लागि चासो राखेका छन्,’ राणाले भनिन्,’लगानी सम्मेलनमा ठूला लगानीसँगै लघुघरेलु उद्योग क्षेत्रमा समेत लगानीको कुरा गरेकाले त्यसमा जिटुजीमार्फत संयुक्तरुपमा लगानीको वातावरण बन्ने अवस्था बनेको छ ।’

संशोधन भएका कानूनहरु कार्यान्वयन गर्नसके मात्रै विदेशी र स्वदेशी लगानीलाई फस्टाउन मद्दत पुग्ने उनको भनाइ छ ।

फेडरेशन अफ नेपाल एक्सपोर्ट एशोसिएशनका अध्यक्ष पवनकुमार गोल्यानले लगानी सम्मेलनले लगानीको वातावरण बनाउन खाजेको बताए । सम्मेलनले देशको आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने आशा गरेको उनले बताए ।

लगानीका प्राथमिकता क्षेत्रहरु पर्यटन,जलविद्युत लगायतमा सरकारको होमवर्क कम भएको गोल्यानको भनाइ छ । सरकारले सम्मेलनमा कृषिलाई प्राथमिकता नदिएको भन्दै उनले असन्तुष्टि जनाए । कृषि प्रशोधन उद्योगमा विदेशी लगानी ल्याउने गरी योजना बनाउन सरकार चुकेको उनको भनाइ छ । तर, समग्रमा लगानी सम्मेलनमार्फत लगानीको वातावरण बनाउने राम्रो प्रयास भएको उनले बताए ।

‘सम्मेलनमा सरकारको लगानीका प्राथमिक क्षेत्रहरु पर्यटन,जलविद्युत क्षेत्रमा होमवर्क कम भएको छ । कृषिलाई प्राथमिकता नदिएको पनि देखियो । कृषि प्रशोधन उद्योगमा विदेशी लगानी ल्याउनतिर जानुपर्ने हो,’ गोल्यानले भने, ‘त्यो नभएको भएपनि समग्रमा लगानी सम्मेलनमार्फत लगानीको वातावरण बनाउने राम्रो प्रयास भएको छ ।’

गोल्यानले नेपाल लगानीको लागि सधैं आकर्षण देश रहेको बताए । लगानी सम्मेलन सफल हुदाँ खुशी हुने मात्रै नभएर अब परिणाम आउने गरी काम गर्न जरुरी रहेको उनले बताए ।

‘लगानी सम्मेलन सफल हुदाँ खुसी हुने मात्रै नभएर अब परिणाम आउने गरी काम गर्न जरुरी छ,’ गोल्यानले भने, ‘लगानी सम्मेलनमा अन्तर्राष्ट्रिय देशहरुबाट भएको सहभागितालाई लगानीको रुपमा सरकारले क्यास गर्न सक्नुपर्छ ।’

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा वैदेशिक लगानी समितिका संयोजक मनोज पौडेलले नेपाल वैदेशिक लगानीको लागि राम्रो गन्तव्य भएको सन्देश दिएको बताए ।

सरकारले कानुनी समस्याहरुलाई समाधानको लागि संशोधन गरेर राम्रो काम गरेको र त्यसले विदेशी लगानीकर्तालाई आकर्षण गरेको उनले बताए ।

लगानी सम्मेलनमा उल्लेखिय सहभागिता रहेको भन्दै उनले सम्मेलनमा विदेशी सरकारी निकायको प्रतिनिधिभन्दा पनि विदेशी निजी क्षेत्रलाई ल्याउन आवश्यक देखिएको बताए ।

अनिष मिजार/न्युज एजेन्सी नेपाल


क्लिकमान्डु