शतप्रतिशत बढ्यो स्यानिटरी प्याड र डाइपर निर्यात, ९ महिनामा ५६ करोडको निकासी



काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा स्यानिटरी प्याड र डाइपर निर्यात शतप्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आवको चैत मसान्तसम्ममा गत आवको सोही अवधिको तुलनामा १२२ प्रतिशतले बढेको छ ।

नेपालले गत आवको ९ महिनाको अवधिमा २५ करोड ३६ लाख रुपैयाँको ५ करोड ६५ लाख पिस स्यानिटरी प्याड र डाइपर निर्यात गरेको थियो । यो वर्षको सोही अवधिमा ५६ करोड २६ लाख रुपैयाँको स्यानिटरी प्याड र डाइपर निर्यात गरेको छ । चैत मसान्तसम्ममा ५६ करोड रुपैयाको १६ करोड ५ लाख २१ हजार पिस स्यानिटरी प्याड र डाइपर निर्यात गरेको हो ।

नेपालले उक्त अवधिमा ३३ करोड ८९ लाख रुपैयाँको स्यानिटरी प्याड र २२ करोड ३७ लाख रुपैयाँको डाइपर निर्यात भएको विभागको तथ्याङ्क छ ।

गत आवमा ३६ करोड ७७ लाख ८५ हजार रुपैयाँको स्यानिटरी प्याड र डाइपर निर्यात गरेको थियो । नेपालले अधिकांश स्यानिटरी प्याड र डाइपर भारतमा मात्रै निर्यात गर्दै आएको पाइन्छ ।

तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगको संरक्षणका लागि कच्चा पदार्थ र तयारी प्याडको महसुलमा एक तहको फरक करको व्यवस्था गरिएको थियो ।

महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् नेपालमा स्यानिटरी प्याड उत्पादन गर्ने उद्देश्यले स्थापना भएका उद्योगले प्याड निकासी समेत गर्नसक्ने क्षमता भएको भन्दै स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगको संरक्षणका लागि कच्चा पदार्थ र तयारी प्याडको महसुलमा एक तहको फरक करको व्यवस्था गरिएको थियो ।

उनले यस्ता प्याड उत्पादन गर्ने कच्चा पदार्थमा लाग्ने भन्सार दर एक प्रतिशत र तयारी वस्तुमा लाग्ने भन्सार दर समान राख्दा आत्मनिर्भर अवस्थामा रहेका उद्योगलाई संरक्षण गर्न नसकिने भएकाले तयारी प्याड आयातमा महसुल दर बढाइएको थियो । उक्त व्यवस्थाले चालु आर्थिक वर्षमा उच्च निर्यात बढेको विभागले जनाएको छ ।

त्यस्तै नेपालले २ अर्ब ७६ करोड १ लाख रुपैयाँको डाइपर तथा स्यानिटरी प्याड आयात गरेको छ । जसमा नेपालले १ अर्ब ५ करोड ७७ लाख रुपैयाँको १७ करोड पिस स्यानिटरी प्याड, ३ करोड १० लाख रुपैयाँको न्याप्किन र १ अर्ब ६७ करोड १३ लाख ८९ हजार रुपैयाँको १० करोड ७२ लाख ४६ हजार पिस डाइपर आयात गरेको छ ।


क्लिकमान्डु