भारत भ्रमण रद्ध गरेर एलन मस्कले किन गरे चीनको ‘सर्प्राइज भिजिट’ ?



एजेन्सी । एलन मस्कले आफ्नो चीन भ्रमणको क्रममा टेस्लाका लागि अत्याधुनिक ड्राइभर एसिस्टेन्ट सिस्टम सुरु गर्न चीनको स्वीकृतिमा जोड दिएका छन् । सोमबार सम्पन्न उक्त भ्रमणमा मस्कको यस्तो कदमले चिनियाँ प्रतिस्पर्धीहरुको दबाबका बीच राजश्व बढाउने अपेक्षा गरिएको छ ।

टेस्लाका सिइओ एलन मस्क आइतबार चीनको राजधानी बेइजिङ पुगेका थिए । जहाँ उनले फुल सेल्फ ड्राइभिङ (एफएसडी) सफ्टवेयरको रोलआउट र ड्राइभिङ डेटा ट्रान्सफर गर्ने अनुमतिमाथि चर्चा गर्ने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मस्कले आफ्नो स्वायत्त ड्राइभिङ टेक्नोलोजीहरुका लागि एल्गोरिदम प्रशिक्षण गर्नका लागि संकलन गरिएका डेटा अर्को देशमा स्थानान्तरण गर्ने स्विकृति गर्न चाहिरहेको बताइन्छ । जवकि २०२१ मा संकलन गरिएका डेटाहरु सांघाइमा संग्रहित गर्नका लागि चिनियाँ नियामक निकायहरुले टेस्लालाई भनेका थिए । यसले गर्दा ती डेटा अमेरिकामा स्थानान्तरण गर्नका लागि टेस्ला असमर्थ भएको छ ।

सार्वजनिक नगरिएको मस्कको चीन भ्रमणबारे रोयटर्सले एक व्यक्तिको स्रोत प्रयोग गर्दै समाचार सार्वजनिक गरेको थियो । रोयटर्सको समाचार अनुसार मस्क बेइजिङमा अवतरण गरेको विषयमा टेस्लाले पनि कुनै प्रतिक्रिया दिएको थिएन ।

मस्कको यो अचानक भ्रमणलाई लिएर विश्लेषकहरुले ‘टेस्लाका लागि एक प्रमुख क्षण’ रहेको भन्दै टिप्पणी गरेका छन् । चीनको सरकार समर्थित पत्रिका ग्लोबल टाइम्सका पूर्वसम्पादक हु छिजिनले भनेका छन्, ‘यो चीनका लागि मात्रै नभई डेटा सुरक्षाका समस्या समाधानको सन्दर्भमा सम्पूर्ण विश्वका लागि नै महत्त्वपूर्ण प्रदर्शन हो ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेस्लाका भारी सर्तहरुलाई लिएर टिप्पणी गरेपछि भारत भ्रमण रद्ध गरेको एक सातापछि नै मस्कले अचानक चीन भ्रमण तय गरेको बताइएको छ ।


क्लिकमान्डु