टिकटक नबेच्ने चिनियाँ कम्पनीको अडान, अमेरिकाले प्रतिबन्ध लगाए अदालत जाने



एजेन्सी । सोसल मिडिया प्लेटफर्म टिकटकको चिनियाँ कम्पनी बाइट डान्सले अमेरिकी प्रतिबन्धका कारण टिकटक बिक्री नगर्ने जनाएको छ ।

अमेरिकी संसदले बाइट डान्सका मालिकलाई आफ्नो हिस्सेदारी नबेचे प्रतिबन्ध लगाउने बाध्यकारी विधेयक पारित गरेपछि चिनियाँ कम्पनीले यस्तो प्रतिक्रिया दिएको हो ।

‘विदेशी मिडिया रिपोर्टमा टिकटक बिक्री गर्न खोजेको भन्दै आएका समाचार असत्य हुन्,’ बाइट डान्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘टिकटक बिक्री गर्ने बाइट डान्सको कुनै योजना छैन ।’

टिकटकमाथि अमेरिकाले प्रतिबन्ध लगाउनसक्ने भएपछि टिकटक बिक्री गर्न खोजिएको भन्दै अमेरिकी केही मिडियाले समाचार प्रकाशन गरेका थिए । अमेरिकी संचारमाध्यम द इन्फर्मेसनले हालै टिकटक बिक्री गर्न खोजिएको भन्दै रिपोर्ट सार्वजनिक गरेको थियो ।

जबकि गत साता अमेरिकी संसदले टिकटकका चिनियाँ व्यवसायीलाई आफ्नो हिस्सेदारी बेच्न वा अमेरिकी प्रतिबन्ध सामना गर्न बाध्य पार्ने गरी विधेयक पारित गरेको थियो ।

बाइट डान्सले द इन्फर्मेसनको रिपोर्टको स्क्रिनसट समेत एट्याच गर्दै विज्ञप्ति जारी गरेको हो । २०२० मा नै टिकटकको विषयलाई लिएर अमेरिकी अधिकारीहरुले प्रश्न गर्न थालेपछि उक्त विधेयक अगाडि बढेको हो । यससँगै अमेरिकी नयाँ कानुनले टिकटकको ब्यापारमा ठूलो नोक्सान पुग्ने पनि आकलन गरिएको छ ।

बुधबार भने टिकटकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सोउ चिउले अमेरिकाले प्रतिबन्ध लगाए आफूहरु अदालतमा जाने चेतावनी समेत दिएका थिए । यसवाहेक चीन सरकारले पनि फोर्स सेलको विरुद्धमा आफू उभिने जनाएको थियो ।

विश्वभर लोकप्रिय बनेको सोसल मिडिया प्लेटफर्म टिकटक चलाउने कम्पनी बाइट डान्समा विश्वभरका विभिन्न कम्पनीहरुको ६० प्रतिशत स्वामित्व छ । यद्यपि अमेरिकाले आफ्ना सूचनामा चिनियाँ पहुँच बढ्ने भन्दै सूचना चुवाहटको मुद्दा उठाउँदै आएको छ ।

चिनियाँ व्यवसायीहरुले सन् २०१२ मा स्थापना गरेको बाइट डान्सले सुरुमा छोटा भिडियो पोस्ट गर्ने एप डुइन सार्वजनिक गरेको थियो । त्यसको एक वर्षपछि बाइट डान्सले लिप सिकिङ एप म्युजिकल्लीको स्वामित्व किनेर अन्तर्राष्ट्रिय रुपमा टिकटक सुरु गरेको हो । टिकटकलाई हालसम्म विश्वभरबाट कम्तिमा २ अर्बपटक डाउनलोड गरिएको छ ।


क्लिकमान्डु