तेस्रो लगानी सम्मेलन: प्रचार गरिएका चारवटै परियोजनाको सम्झौता नहुने  



काठमाडौं । काठमाडौंमा आइतबारबाट सुरु भएको तेस्रो लगानी सम्मेलनमा सोलार, औद्योगिक पार्क र जलविद्युत आयोजना सहितका चारवटा सम्झौता गर्ने तयारी भएको भए पनि अन्तिम चरणमा सम्झौता नहुने भएको छ । तयारी नपुगेको भन्दै लगानी बोर्डको कार्यालयले अन्तिम समयमा सम्झौता रद्ध भएको बताएको छ ।  

३ वटा आयोजनास‍ँग आयोजना विकास सम्झौता (पीडीए) गर्ने तयारी थियो भने एउटा परियोजनासँग आयोजना लगानी सम्झौता (पीआईए) गर्ने तयारी थियो ।

लगानी बोर्डको कार्यालयले तयारी नपुगेको भन्दै अन्तिम दिन पीडीए नगर्ने निर्णय गरेको हो । ‘वार्ताकै चरणमा रहेकाले हामीले सम्झौता गर्न नसक्ने भयौं,’ लगानी बोर्डको कार्यालयका सहसचिव प्रधुम्न उपाध्यायले भने, ‘४ वटै सम्झौता नहुने भयो ।’

लगानी बोर्डको कार्यालयले चीन नेपाल मैत्री ‍औद्योगिक पार्क, अप्पर मर्स्याङदी -२ जलविद्युत् आयोजना, २५० मेगावाटको ग्रीड कनेक्टेड सोलार आयोजनासँग पीडीए गर्न लागेको थियो । डाबर नेपालसँग पीआईए गर्ने तयारी थियो ।

आइतबारसम्म सम्झौता गर्ने भनिए पनि सोमबार एक्कासी सम्झौता नगर्ने बोर्डले जनाएको छ । सरकारी वार्ता टोलीले कामै नथालेकोले सम्झौता नहुने भएको हो ।

२५० मेगावाटको सोलारको आयोजना हङकङको कम्पनीसँग सम्झौता गर्न लागिएको थियो । आयोजना कोहलपुर र बाङगंगामा निर्माणको तयारी थियो । सोलारका आयोजनाहरु नेपालमा भए पनि स्टोरेज प्रकृतिको निर्माण हुन सकेको छैन । डाबर नेपालले क्षमता अभिवृद्धि र उत्पादनमा विविधीकरणका लागि सम्झौता गर्न लागिएको थियो ।

माथिल्लो मर्स्याङदी-२ जलविद्युत आयोजना बुटवल पावर कम्पनी लिमिटेडसँग मिलेर ३ चिनियाँ कम्पनीले निर्माण गर्न लागेका छन । यो परियोजनाको पीडीए तयारी नपुगेको भन्दै आइतबार नै नगर्ने निर्णय भएको थियो ।

यी चार परियोजनाको लागत करिब १ खर्ब ७५ अर्ब रुपैयाँ छ ।


क्लिकमान्डु