अप्पर मनाङ मर्स्याङदी-२ जलविद्युतको पीडीए नहुने, बुटवल पावर कम्पनी नै बेखबर



काठमाडौं । लगानी बोर्डको कार्यालयले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा अप्पर मनाङ मर्स्याङदी-२ जलविद्युतको आयोजना विकास सम्झौता (पीडीए) गर्ने तयारी गरेको थियो ।

बोर्डले मनाङ मर्स्याङदी-२ जलविद्युत आयोजनाको पीडीए गर्ने भन्दै चौतर्फी प्रचार गर्‍यो । तर अन्तिम समयमा आएर पीडीए नहुने भएको छ । ‘

‘अनौपचारिक रुपमा छलफल भएको छ । लगानी बोर्डमा बनेको कमिटीमा हाम्रा प्रतिनिधि पनि पठाएका हौं । पीडीए हुने पक्षबीच समझदारी छैन । औपचारिक छलफल पनि भएको छैन,’ बुटवल पावर कम्पनीका एक इन्जिनियरले भने, ‘लगानीको बोर्डको आफ्नो के तयारी छ, त्यसबारे हामीलाई जानकारी छैन । पीडीए हुने भए त अहिलेसम्म जानकारी आउन पर्ने हो ।’

उनका अनुसार बुटवल पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तर कुमार श्रेष्ठ आइतबार मात्रै विदेश भ्रमण सकेर फर्किएका छन् । ‘पीडीए नभएपनि पछि कागजात मिलाएर गर्ने गरी एक खालको समझदारी हुन सक्छ । त्यो सम्भावना हुन सक्छ, ‘ उनले भने, ‘पीडीएका लागि तयारी नै छैन । ‘

आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलन सोमबार सम्पन्न हुदैछ । लगानी बोर्डको एक उच्च अधिकारीका अनुसार पीडीए हुने सम्भावना टरिसकेको छ । ‘धेरै कुरा हामीलाई नै सरप्राइज छ । मलाई पीडीए हुन्छ भन्ने लाग्दैन । कुनै तयारी नै छैन,’ उनले भने, ‘एमओयुसम्म गर्न सक्ने सम्भावना भने छ । चिनियाँहरु यतै छन् ।’

यो जलविद्युत् आयोजना बुटवल पावर कम्पनी लिमिटेडसंग मिलेर तीन चिनियाँ कम्पनीले निर्माण गर्न लागेका छन् । आयोजनामा सिचुवान प्रोभिन्सियल इन्भेष्टमेन्ट ग्रुप, छेन्दु सिनचेङ इन्भेष्टमेन्ट ग्रुप र  कुइङ युआन इन्जिनियरिङ कन्सल्टेन्सीको ८० प्रतिशत सेयर हुनेछ भने बाँकी रहेको २० प्रतिशत सेयर बुटवल पावर कम्पनीको हुनेछ ।

मनाङ र लमजुङ भएर बग्ने मर्स्याङदी नदीमा आयोजना निर्माण गरिनेछ । सुरुमा यो आयोजना भारतीय कम्पनी जिएमआरको स्वामित्व भएको हिमताल हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वे लाइसेन्स लिएको थियो । २०६९ सालमा नै सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआईए) स्वीकृत भएको थियो । तर, जिएमआरले यो आयोजनाको मेजोरिटी सेयर तीन चिनियाँ कम्पनीलाई बेचेको हो ।

यो परियोजनामा चिनियाँहरुले नेपालमा लगानीको वातावरण नभएको भन्दै गुनासो गर्दै आएका छन । उनीहरुले लगानीको अनुकुल वातावरण बनेपछि मात्रै निर्माण अघि बढाउने भन्दै टाढिदै आएका छन । पछिल्लो समयम उनीहरुले चहलपहल बढाएका छन् भने आयोजना अघि बढाउन पनि तयार भएको बुटवल पावरका एक अधिकारीले बताए ।

यो आयोजना अर्ध-जलाशय प्रकृतिको आयोजना हो । जसको विस्तृत अध्ययन पूरा भएको छ । वार्षिक रुपमा १९३४ गिगावाट आवर विद्युतीय ऊर्जा उत्पादन गर्न सक्छ । आयोजनाको ग्रस हेड ६४९.६ मिटर रहेको छ । १२ किलोमिटर हेडरेस टनेल निर्माण गर्नुपर्नेछ ।

आयोजनाकाे पावर हाउस भुमिगत हुनेछ । आयोजनाको हेडवर्क्स मनाङको तल गाउँमा पर्छ । पावर हाउस लमजुङकबो स्याङगे गाउँमा पर्छ ।

नेपालका जलविद्युत आयोजनाहरु भुराजनीतिक ट्रयापमा परेका छन । सरकारै पिच्छे फरक निर्णय हुने गरेको छ। एउटा सरकार बन्दा आयोजनाहरु चिनियाँ कम्पनीलाई जिम्मा लगाइन्छ । सरकार फेरिदा भारतीय कम्पनीहरुले आयोजनाहरु जिम्मा पाउँछन । एउटा देशका कम्पनीबाट खोसेर अर्को देशका कम्पनीलाई दिने गरिन्छ । जसका कारण आयोजनाहरुको ठोस काम नै अघि बढ्न सकेको छैन । ‍निर्माण थालेर बत्ति बलिसक्ने बेलासम्म आयोजना खोस्ने र दिने काममा नै समय व्यतित भइरहेको छ ।


क्लिकमान्डु