विद्युत प्राधिकरणले काम नगर्ने ६ कम्पनीसँग ठेक्का तोड्दै, माग्यो ७ दिने स्पष्टीकरण



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ठेक्का लिएर काम नगर्ने ६ वटा निर्माण कम्पनीसँग ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ ।

प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालय,अत्तरियाले ठेक्का लिएर काम नगर्ने कम्पनीसँग सम्झौता तोड्न लागेको हो ।

वितरण केन्द्रसित लाइन निर्माण कार्य गर्न सम्झौता गरेको तर तोकिएको अवधिमा काम पूरा नगरेको कार्यालयले जनाएको छ। पटक पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि काम सन्तोषजनक नदेखिएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो ।

ठेक्का सम्झौता रद्ध गर्न नपर्ने कुनै मनासिव कारण भएमा ७ दिनभित्र निर्माण व्यवसायी स्वयम उपस्थित भई स्पष्टीकरण पेस गर्न आग्रह गरिएको छ । चित्त बुझ्दो कारण पेस नभए कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइनेछ ।

कार्यालयका अनुसार तारुपाते निर्माण सेवा,नेपालगञ्जले लालपुरदेखि महेन्द्रनगर तथा धनगढीदेखि पुनर्वाससम्म ३३ केभी प्रसारणलाइनको काम लिएर अलपत्र पारेको छ । सुनिता एण्ड कविता कन्स्ट्रक्सन प्रालिले बुडर सबस्टेसनदेखि जोगबुढा सबस्टेसनसम्म ३३ केभी प्रसारणलाइनको काम लिएर गरेको छैन ।

भगवती कन्स्ट्रक्सनले पर्शुराम नगरपालिका र आलिताल नगरपालिकाका विभिन्न स्थानमा विद्युतीकरणको काम लिएर गरेको छैन ।

निग्लासैनी कन्स्ट्रक्सनले पर्शुराम नगरपालिकामा विद्युतीकरणको ठेक्का लिएको थियो । जसको सन्तोषजनक काम छैन ।

सकुन इन्जिनियरिङ निर्माण सेवाले पर्शुराम, अमरगढी नगरपालिका, आलिताल र गन्यापुर गाउँपालिकाका विभिन्न स्थानमा विद्युतीकरणका लिएर अलपत्र पारेको छ । आर वि कन्स्ट्रक्सनले पर्शुराम नगरपालिकामा विद्युतीकरणको काम लिएर गरेको छैन ।


क्लिकमान्डु