कृषि मन्त्रीको गुनासो : चिया बोर्डले काम गर्न सकेन



काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चिया तथा कफी विकास बोर्डले आफ्नो उद्देश्यअनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।

२८ औं राष्ट्रिय चिया दिवसको अवसर पारेर शनिबार काठमाडौंको कीर्तिपुरमा आयोजित एक कार्यक्रममा उनले असन्तुष्टि व्यक्त गरेकी हुन्। भत्ता र सरुवा, बढुवाको माग गर्ने चिया तथा कफी विकास बोर्डले मुलुकको निर्यात व्यापारलाई बढावा दिने गरी चिया तथा कफीको गुणतस्तरीय उत्पादनमा जोड दिनुपर्ने बताइन्।

६० हजारभन्दा बढीलाई रोजगारी दिने चिया तथा कफी क्षेत्रले मुलुकको समृद्धिमा योगदान दिन सक्ने भएकाले सोही अनुसार काम गर्नुपर्ने मन्त्री साहले बताइन्। उनले राष्ट्रिय चिया दिवस चिया बगानमा नै मनाउन आवश्यक रहेको बताइन्।

मन्त्री साहले काठमाडौंको हलमा यो कार्यक्रम आयोजना गरिएकोमा राष्ट्रिय चिया तथा कफी बोर्डको पदाधिकारीप्रति असन्तुष्टि पनि व्यक्त गरिन्। इलाम वा झापाको चिया बगानमा सो कार्यक्रम आयोजना गरेको भए धेरै राम्रो हुने उनको भनाइ थियो।

‘आज यो कार्यक्रम एउटा हलमा सिमित छ। मलाई पनि कता कता खुल्दुली लागिरहेको छ । यो कार्यक्रम इलामको कुनै बगानमा गर्नुपथ्र्यो। अथवा झापाको कुनै बगानमा गर्नु पर्दथ्यो। चिया बगानमा गर्दा अझ बेटर हुन्थ्यो कि भन्ने मलाई लागेको छ। यो चिया, कफी बोर्ड यसको विकासका गर्नका लागि बनेको हो,’ उनले भनिन्,’तर दुई वर्षमा बैठक बस्छ। त्यसमा पनि भत्ता र सरुवा हुने कुरा यहाँ आईसक्यो। सुझाव दिनेहरुलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु।’

मन्त्री साहले भनिन, ‘१६ हजार लगभग किसानहरुले झापा, इलाम, धनकुटा, पाँचथर, तेह्रथुम लगायतका जिल्लाहरुमा जो शुरुवात गर्नुभएको छ। चिया तथा कफी व्यवसायीहरुले जो शुरुवात गर्नुभएको छ। र अझ बिस्तार गरेर १४ जिल्ला अझ थप गर्नुभएको छ। खुशीको कुरा कहाँनिर छ भने हिजोको ४ वटा जिल्ला झापा, इलामबाट शुरु चिया आज झापा, तेह्रथुम, धनकुटा, पाँचथर लगायत अझ बिस्तार गरेर १९ जिल्लामा हामी काम गरिराखेका छौं। जसमा ६० हजार श्रमिकहरुले काम गर्न पाएका छौं। यो चानचुन कुरा होइन। समस्यालाई समाधान गरेर अगाडि बढ्न सक्यो भने हामीले हाम्रा समस्याहरुलाई समाधान गर्ने आँट पनि गर्नुपर्छ।’

उनले देशलाई समृद्ध बनाउन कृषि क्षेत्रले महत्वपूर्ण योगदान दिने भएकाले त्यसमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने हिम्मत गर्न पनि व्यवसायीहरुलाई आग्रह गरिन्।

कार्यक्रममा बोर्डका निमित्त कार्यकारी निर्देशन डा दीपक खनालले इलाममा उपनिर्वाचन भएको र त्यसको प्रभाव झापा, पाँचथरलगायतका जिल्लाहरुमा पनि पर्ने भएकाले यस पटक पनि सो क्षेत्रमा गएर राष्ट्रिय चिया दिवस मनाउन नसकिएको स्पष्टिकरण दिएका थिए।


क्लिकमान्डु