लगानी सम्मेलनमा ५५ देशका लगानीकर्ता आउने सुनिश्चित, यस्तो हुँदैछ तयारी



काठमाडौं । स्वदेशी तथा विदेशी लगानी भित्र्याएर आर्थिक समुन्नति हासिल गर्ने उद्देश्यका साथ सरकारको आयोजनामा आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन हुँदैछ । सम्मेलनमा विभिन्न क्षेत्रका करिब एक सय ५० परियोजना प्रस्तुत गर्ने तयारी गरिएको छ ।

‘इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिट–२०२४’ मा स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ ।

लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ ।

त्यसैगरी, चीनका दुई सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी हुँदैछन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ नौ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ ।

पाकिस्तानबाट आठ, सिङ्गापुरबाट ६, कतार र घानाबाट पाँच/पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार/चार जनाको सहभागिता रहने जनाइएको छ ।

त्यसैगरी, स्विजरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलङ्का र कोलम्बियाका तीन/तीनजना सम्मलेनका लागि नेपाल आउँदैछन् । फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट दुई/दुईजना सम्मेलनमा सहभागी हुने सुनिश्चित भएको छ ।

त्यसैगरी, इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको र साइप्रसबाट पनि सम्मेलनमा सहभागिता रहने छ । आयरल्यान्ड, स्लोभेनिया, भियतनाम, बोस्निया, मोरक्को, टर्की, भानुआटु, मौरिटानिया र हङकङबाट पनि सम्मेलनका सहभागी हुने सुनिश्चित भएको बोर्डले जनाएको छ ।

आइतबारदेखि काठमाडौँमा आयोजना हुने उक्त सम्मेलनका लागि एक सय ५० आयोजना सोकेसमा राखिँदैछन भने सम्मेलनस्थलमा २३ प्रदर्शनी कक्ष (स्टल) राखिनेछन् ।

सम्मेलनका क्रममा विभिन्न १९ परियोजनाका लागि आशयपत्र आह्वान गर्न लागिएको छ । आशयपत्र आह्वान गरिने, सोकेस गरिने, मार्केट साउन्डिङ गरिने र निजी क्षेत्रबाट गरी कूल एक सय ५० परियोजना प्रस्तुत हुनेछन् । पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र रहेका छन् । त्यस्तै, दोस्रो दिन ११ समानान्तर सत्र सञ्चालन हुनेछन् ।

लगानीकर्ताको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सम्मेलनस्थल ताहचलको सोल्टी होटलसम्म स्वागतद्वार निर्माण गरिएका छन् । त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल, नयाँ बानेश्वर, थापाथली, त्रिपुरेश्वर, टेकुलगायत सडकमा ‘लगानीकर्तालाई नेपालमा स्वागत छ’ नारा लेखिएका ब्यानर अङ्कित स्वागतद्वार राखिएका छन् ।

सम्मेलनमा नेपाल सरकार आयोजक र नेपालका निजी क्षेत्र सहआयोजकका रुपमा रहेको छ । स्वागतमा राखिएका ब्यानरमा नेपाल सरकार आयोजक तथा निजी क्षेत्रका छाता सङ्गठनहरु नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्स सहआयोजकका रुपमा उल्लेख गरिएको छ । सम्मेलनको सचिवालयको जिम्मेवारी लगानी बोर्डको कार्यालयलाई दिइएको छ ।

पर्याप्त पूँजी, प्रविधि तथा मानव संसाधनका लागि सरकार र निजी क्षेत्रका साथै बाह्य लगानी आवश्यक भएकाले देशको समग्र विकासमा योगदान गर्ने ठानिएका ती परियोजना सम्मेलनमा प्रस्तुत गर्ने तयारी छ । सम्मेलनामा सबैभन्दा धेरै ऊर्जा क्षेत्रका ३१ आयोजना समावेश गरिएका छन् ।

बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार यातायात क्षेत्रका १९, खानी तथा खनिजजन्य क्षेत्रका १३, पर्यटन क्षेत्रका १३, कृषिका १४, उत्पादन क्षेत्रका पाँच, औद्योगिक पूर्वाधार तथा व्यापारसम्बन्धी सात, स्वास्थ्य तथा शिक्षा क्षेत्रका तीन, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका दुई, पानी आपूर्तिका चार र सहरी विकास क्षेत्रका ६ परियोजना छन् । निजी क्षेत्रबाट प्रस्तुत ३१ परियोजना पनि बाह्य लगानीका लागि समावेश गरिएका छन् ।

सम्मेलनका क्रममा विभिन्न विषयमा छलफल हुनेछ । लगानीका लागि सरकार र निजी क्षेत्रबीच छलफल हुने लगानी बार्डले जनाएको छ । सो क्रममा नेपालमा लागनीको सम्भावना र वातावरणका बारेमा नीतिगत छलफल हुनेछ ।


क्लिकमान्डु