५८ अर्ब लागतको पाँचतारे होटल र ३२५ मेगावाटको हाइड्रोमा लगानी खोज्दै दीपक मल्होत्रा



काठममाडौं । आगामी आइतबार र सोमबार नेपालले लगानी सम्मेलन आयोजना गरेको छ । उक्त लगानी सम्मेलनमा इन्टरनेशनल मार्केटिङ सर्भिस (आईएमएस) ग्रुपका २ वटा आयोजना शोकेसमा रहेका छन् ।

रियल इस्टेट व्यवसायी दीपक मल्होत्राको आईएमएस ग्रुपले धापासीमा बनाइरहेको १२० कोठाको पाँचतारे होटल र कर्णालीमा बनाउँदै गरेको ३२५ मेगावाटको अपर भेरी हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट लगानी सम्मेलनको लागि सोकेसमा राखेको हो।

यो हाइड्रोमा प्रतिमेगावाट १७ करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । यही लगानीको हिसाबले पनि यो जलविद्युत् आयोजना निर्माण गर्न करिब ५५ अर्ब खर्च हुने अनुमान रहेको आईएमएस ग्रुपका अध्यक्ष मल्होत्राले क्लिकमान्डुसँग बताए ।

धापासीमा निर्माणाधीन पाँचतारे होटलको निर्माण ५० प्रतिशत सकिएको भए पनि यसका लागि विदेशी लगानी भित्र्याएर निर्माण सम्पन्न गरेर सञ्चालन गर्ने योजनाका साथ सोकेसमा राखेको मल्होत्राको भनाइ छ ।

‘३ अर्ब २५ करोड रुपैयाँको लगानीमा निर्माणाधीन शाहन्शाह होटल सञ्चालनका लागि ५० प्रतिशत विदेशी लगानी भित्र्याउन खोजिएको छ । त्यसैका लागि यो होटल आगामी लगानी सम्ममेलनको सोकेसमा राखिएको हो’ उनले भने ।

होटलमा १२० वटा कोठा हुने छन् । १७ रोपनी क्षेत्रफलमा यो होटल निर्माण हुने छ भने यसमा हालका पाँचतारे होटलमा रहेको भन्दा ठूलो क्षमताको व्याङ्क्वेट हल हुनेछ । यो होटलमा एकैपटकमा १२ सय जनालाई व्याङक्वेट सेवा दिनसक्ने क्षमता रहेको जनाइएको छ ।


क्लिकमान्डु