दैनिक ४ हजार लाइसेन्स छापिँदै, १६ लाख बाँड्न बाँकी



काठमाडौं । यातायात व्यवस्था विभागले करिब ८ महिनापछि फेरि सबारी चालक अनुमति पत्र (लाइसेन्स) छाप्ने काम सुरु गरेको छ ।

विभागका अनुसार लाइसेन्सको लागि आवश्यक पर्ने कार्ड अभाव भएको हुँदा गत असारदेखि छाप्ने काम अवरुद्ध भएको थियो । कार्ड आएपछि अहिले दैनिक ४ हजारको दरले मास प्रिन्टरबाट छपाई भइरहेको विभागका प्रवक्ता ईश्वरदक्त पनेरुले जानकारी दिए ।

जर्मनीको म्युहलबाअर कम्पनीले १२ लाख कार्ड आपूर्ति गर्ने गरी करिब ८ महिनाअघि नै सम्झौता भएको थियो । तर लाइसेन्स प्रणाली सञ्चालन गर्दैआएको भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सले जर्मन कम्पनीको कार्ड उक्त प्रणालीमा छाप्ने प्रविधि मिलाउन समय लागेर कार्ड हुन ढिलाई भएको थियो ।

१२ लाखको संख्यामा कार्ड आइसक्दा पनि उक्त कार्ड प्रिन्ट गर्ने मास प्रिन्टर एक थानमात्रै भएकाले मागअनुसार कार्ड छाप्न नसकिएको बिभागले जनाएको छ । यो प्रिन्टरको कार्ड छाप्ने क्षमता पनि दैनिक ४ हजार मात्रै छ ।

‘हामीसँग कार्ड छाप्ने मास प्रिन्टर एक थान मात्रै छ,’ उनले भने,‘यो मेसिनको कार्ड छाप्ने क्षमता पनि दैनिक ४ हजार मात्रै छ । हामीलाई कम्तिमा दैनिक ६ हजार छाप्ने प्रिन्टर आवश्यक छ ।’ दैनिक ६ छाप्ने क्षमताको प्रिन्टर भएको अवस्थामा मात्रै मागअनुसार लाइन्सेन्स वितरण गर्न सहज हुने उनको भनाइ छ ।

विभागका अनुसार अहिलेको क्षमताभन्दा केही ठूलो संख्यामा लाइसेन्स छाप्नका लागि केहि महिनाअघि वोलपत्र आह्वानसमेत गरिएको थियो । यो सँगै २० लाख कार्ड आपूर्ति गर्नका लागि पनि वोलपत्र आह्वान भएको थियो । तर उक्त वोलपत्रमा एउटै टेण्डर नपरेपछि अहिले विभागले दोश्रो पटक वोलपत्र आह्वान गर्न गृहकार्य सुरु गरेको छ ।

विभागका अनुसार ढिलो गरी कार्ड आइपुग्दा छापेर वितरण गर्न मात्रै १६ लाख पुगेको छ । अहिले देशभर दैनिक ३ देखि ५ हजारले लाइसेन्स परीक्षा पास तथा नवीकरणका लागि प्रक्रिया पूरा गर्दैआएका छन् ।

विभागले लाइसेन्स छपाइमा ढिलाइ भएपछि सवारी चालकहरूलाई एक वर्षका लागि क्युआर कोड सहितको अस्थायी लाइसेन्स दिने गरेको छ । यो अवधिसमेत सकिंदा पनि सरकारले समयमा कार्ड छापेर लाइसेन्स वितरण गर्न नसक्दा लाखौं सवारी चालकहरू मर्कामा परेका छन् ।


क्लिकमान्डु