९ वर्षअघि आजकै दिन गएको थियो भूकम्प, ७ खर्ब ६ अर्बको क्षति



काठमाडौं । गोरखा भूकम्पको नवौं स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११:५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो ।

बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित भनी घोषणा गरेको थियो । भूकम्पका कारण करिब ९ हजार मानिसको निधन भएको थियो । अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी आठ लाख बढी निजी आवासमा क्षति पुगेको थियो । भूकम्पले करिब एक हजार ५०० सांस्कृतिक सम्पदामा क्षति भएको थियो ।

अति प्रभावित र प्रभावित जिल्लाका विद्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकायका भवन, सडक र खानेपानी आयोजनामा भूकम्पले क्षति पुगेको थियो । सात वर्षअघिको भूकम्पले क्षति पुगेका संरचनाको पुनःनिर्माण गर्न २०७२ पुसमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको स्थापना भएको थियो ।

विसं १९९० माघ २ गतेको भूकम्पको सम्झनामा सरकारले २०५६ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको थियो । दिवसका माध्यमबाट चेतना जागृत गराई भूकम्बाट सुरक्षित बनाउने सरकारको लक्ष्य छ । नेपाल भूकम्पीय जोखिमको क्षेत्रमा पर्दछ । यस अवसरमा आज विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ ।

यस्तो थियो क्षति

विसं २०७२ को भूकम्पले १९९० पछिकै बढी क्षति गराएको गृह मन्त्रालयले जनाएको छ । त्यो भूकम्पबाट आठ हजार ९ सय ७० जनाको मृत्यु भएको गृह मन्त्रालयले तथ्यांक छ । मृत्यु भएका मध्ये ९८ दशमलव सात प्रतिशत अतिप्रभावित जिल्लाका नागरिकहरू छन् । ५६ प्रतिशत महिला परेका छन् । भूकम्पमा परि एक सय ९५ जना बेपत्ता रहे । उक्त भूकम्पमा २२ हजार तीन सय दुई जना घाइते भएको तथ्यांक छ ।

कुल आठ लाख बढी निजी आवास, आठ हजार जति विद्यालय, करिब नौ सय २० ऐतिहासिक सम्पदासहित अस्पताल, सरकारी घर/भवन र निजी घर भत्किँदा करिब ७ खर्ब ६ अर्ब बराबरको क्षति भएको तथ्यांक छ ।

सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना गरी त्यसमार्फत भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माण कार्य करिब–करिब सकेको थियो । बाँकी भएका काम सम्बन्धित मन्त्रालयलाई जिम्मा दिएर प्राधिकरण गएको थियो ।


क्लिकमान्डु