निजगढ बनाउनेलाई काठमाडौं विमानस्थल सञ्चालन गर्न दिनुपर्ने, पोखरा र भैरहवा एउटैलाई दिन सुझाव



काठमाडौं । बारामा निर्माण गर्न लागिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नेलाई नै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न दिनुपर्ने सुझाव अध्ययन समितिले दिएको छ ।

अध्ययन समितिले निजगढ बनाउनेलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चलाउन दिने र पोखरा–भैरहवा सञ्चालन जिम्मा एउटै कम्पनीलाई दिनुपर्ने निष्कर्ष निकालेको हो ।

काठमाडौं, पोखरा र भैरहवा विमानस्थल सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्ने सम्बन्धमा सरकारले १५ माघमा पूर्वसचिव शंकर अधिकारीको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो।

उक्त समितिले आइतबार पर्यटन मन्त्री हितबहादुर तामाङलाई बुझाएको प्रतिवेदनमा निजगढ र काठमाडौं विमानस्थललाई बण्डलिङ गरेर दिनुपर्ने सुझाव दिएको हो । दुईवटै विमानस्थल एउटैलाई दिन सकेको अवस्थामा निजगढ निर्माण हुने र काठमाडौं पनि सञ्चालन भइरहने निष्कर्ष निकालेको समिति सदस्य डा. घनश्याम ओझाले क्लिकमान्डुलाई जानकारी दिए ।

पीपीपी मोडलमा छुट्टाछुट्टै विमानस्थल सञ्चालन हुन सक्ने अवस्था नदेखिएको उनले बताए । अध्ययन समितिले काठमाडौं विमानस्थल सञ्चालन गर्दा हुने लाभलाई निजगढसँग जोड्न सकिएको अवस्थामा दुबै विमानस्थल चल्ने सुझाव दिएको छ ।

पीपीपी मोडलमा विमानस्थल निर्माण तथा सञ्चालन गर्न चाहने कम्पनीले कम्तिमा वार्षिक १ अर्ब रुपैयाँको कारोबार, कम्तिमा एउटा विमानस्थल पीपीपीमा सञ्चालन गरिसकेको हुनुपर्ने शर्त राखिनुपर्ने सुझाव पनि अध्ययन समितिले दिएको छ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसमेत छुट्टाछुट्टै सञ्चालन गर्न दिँदा चल्ने देखिएन,’ समितिका सदस्य डा. ओझाले भने,’ यी दुई विमानस्थल पनि बण्डलिङ गरेर एउटै कम्पनीलाई सञ्चालन गर्न दिँदा उपयुक्त हुने सुझाव समावेश भएको छ ।’

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले नै क्षमताभन्दा बढी यात्रु पुगिसकेका छन् भने निजगढ नेपालको लागि आवश्यक विमानस्थल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

काठमाडौं विमानस्थलको वार्षिक यात्रु क्षमता ५० लाख मात्रै भए पनि अहिले नै करिब ९० लाख यात्रुले सेवा लिने गरेका छन् । यात्रुको संख्या बढिहने भए पनि क्षमतामा विस्तार गर्ने अवस्था नभएको , एउटा मात्रै धावनमार्ग भएको र थप यात्रुलाई सेवा दिन सक्ने अवस्थामा काठमाडौं विमानस्थल नभएकोले निजगढ विमानस्थल अनिवार्य भएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपालको दीर्घकालीन महत्त्व बोकेको निजगढ विमानस्थल बनाउनुको विकल्प नभएको समितिको निष्कर्ष छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ विमानस्थलबाहेक अरु हुन नसक्ने भएकोले जसरी पनि बनाउनैपर्ने भन्दै काठमाडौंलाई आन्तरिक विमानस्थल बनाएर निजगढ बनाउन दिनुपर्ने सुझाव अध्ययन समितिले दिएको छ ।

त्यसो त सन् २०११ मै कोरियाली कम्पनी ल्याण्डमार्क वर्ल्डवाइड (एलएमडब्लु)ले त्रिभुवन अन्तर्राष्ट्रियलाई आन्तरिक बनाएर निजगढ विमानस्थल निर्माण र सञ्चालन गर्न दिन सुझाव दिएको थियो । तर निजगढका विषयमा भएको अध्ययनलाई सरकारले कार्यान्वय गर्न सकेन ।

आफूले निर्माणको जिम्मा पाएको अवस्थामा निजगढमा विमानस्थल सञ्चालन गर्न सकिने जनाएको कोरियाली कम्पनीलाई जिम्मा दिएको भए १० वर्षअघि विमानस्थल सञ्चालन भइसक्ने थियो।

उक्त कम्पनीले निर्माण सुरु भएको ३ वर्षमा एउटा धानवमार्गबाट निजगढ विमानस्थल सञ्चालन गर्न सकिने बताएको थियो । निजगढ दक्षिण एसियाकै हब विमानस्थल बन्न सक्ने र चार वटासम्म धावनमार्ग बनाएर सञ्चालन गर्नसकिने पूर्ण क्षमताको विमानस्थल हुने निष्कर्ष कोरियाली कम्पनीले दिएको थियो ।

सरकारले चीन सरकारसँग ऋण लिएर बनाएको पोखरा र एसियाली विकास बैंकको ऋणमा बनाएको भैरहवा विमानस्थल पनि सञ्चालनमा आएको वर्षौं बितिसक्दा पनि विदेशी वायुसेवा कम्पनीले उडानका लागि रुची देखाएका छैनन् । यी दुबै विमानस्थल सरकारले गरेको लगानी खेर मात्रै गइरहेको छ । विमानस्थल निर्माण भए पनि सञ्चालन मोडालिटी उपयुक्त नहुँदा चल्न नसकेको भन्दै अध्ययन समितिले यी दुई विमानस्थल सञ्चालन एउटै कम्पनीलाई दिनुपर्ने निष्कर्ष निकालेको हो।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पनि वार्षिक यात्रुबहन क्षमता १५ लाख मात्रै हो भने अहिले नै ८ लाख आन्तरिक यात्रुले सेवा लिने गरेका छन् । पोखरामा १४ लाख यात्रुबहन क्षमता छ । उक्त विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नभए पनि ९ लाख आन्तरिक यात्रुले सेवा लिएका छन् । यी विमानस्थललाई पूर्णक्षमतामा सञ्चालन गर्नेभन्दा पनि दीर्घकालसम्म सञ्चालन गर्ने र लाभ गर्नेतर्फ ध्यान दिनुपर्ने अध्ययन समिति सदस्य ओझाको भनाइ छ ।


क्लिकमान्डु