सुनिलविरुद्ध अकुत सम्पत्ति आर्जन, विकलमाथि झुटो विवरण पेस गरी सरकारी नियुक्ति लिएर भ्रष्टाचार गरेको मुद्दा



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेशनल पेमेन्ट गेटवे प्रकरणमा दोषी ठहर भएका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा दायर गरेको छ भने सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलमाथि झुटो विवरण पेस गरी सरकारी नियुक्ति लिएर भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

आयोगले आइतबार सुनिल पौडेलविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

गत शुक्रबार विशेष अदालतले नेशनल पेमेन्ट गेटवे प्रकरणमा पौडेलसहित ८ जनालाई दोषी ठहर गरेको थियो । तर, पौडेललाई सजाय निर्धारण गर्न विशेष अदालतले वैशाख २५ मा पेशी तोकेको छ ।

आयोगले पौडेल सार्वजनिक पदमा बहाल रहँदाको आयव्ययको तालमेल नदेखिएको ठहर गर्दै २३ करोड ७५ लाख ४६ हजारभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दायर गरेको जनाएको छ ।

पौडेल पदमा रहँदा पारिश्रमिक, भत्ता, शेयरलगायत एक करोड १९ लाख २४ हजार ८ सय ४६ आयआर्जन गरेको पनि आयोगको आरोप छ । यसैगरि, उनले २४ करोड ९४ लाख ७१ हजार १७१ खर्च तथा लगानी गरेको पनि आयागले उल्लेख गरेको छ ।

आम्दानी र खर्च अनुसार पौडेलको २३ करोड ७५ लाख ४६ हजार ३ सय २४ रुपैयाँ बराबरको खर्च तथा सम्पत्ति अवैध देखिएको आयोगले उल्लेख गरेको छ ।

यसका साथै, आयोगले नेपालमा ठेक्कापट्टासँग जोडिएका अन्तर्राष्ट्रिय कम्पनीहरूबाट पौडेलले सिंगापुरमा रकम भुक्तानी लिने गरेको पनि जनाएको छ ।

‘आफूले चाहेको स्वदेशी आपूर्तिकर्ता कम्पनीहरूसँग ठेक्का सम्झौता गर्ने र उक्त कम्पनीले सोही अवधिमा विदेशी आपूर्तिकर्ता कम्पनीसँग साझेदारी गरी सामान आपूर्ति गरेर कमिसन लिएको,’ आयोगको दाबी छ ।

साझेदारीमा रहेका विदेशी कम्पनीहरूले कमिसन वापत सुनिल पौडेलको सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंकको खातामा रकम हालिदिएको पनि आयोगले उल्लेख गरेको छ ।

आयोगले उनीविरुद्ध दायर गरेको आरोपमा उल्लेख गरेको छ, ‘आफू कार्यकारी प्रमुख भएका निकायहरूमा सामग्री आपूर्ति गर्ने स्वदेशी तथा विदेशी कम्पनीसँग मोलमोलाइ गरी गैरकानूनी कमिसन लिइ विदेशी बैंकमा रकम जम्मा गर्ने र त्यस्तो रकम स्वदेशमा र विदेशमा रहेका आफन्तमार्फत विभिन्न क्षेत्रमा लगानी गरेको भेटियो ।’

आयोगले सुनिल पौडेल र विकल पौडेलविरुद्ध आइतबार छुट्टाछुट्टै दुई भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सुनिलविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग लगाएको आयोगले विकलमाथि झुटो विवरण पेस गरी सरकारी नियुक्ति लिएर भ्रष्टाचार गरेको आरोप लगाएको छ । अमेरिकी पिआर लिएका पौडेलले झुटा विवरण पेस गरी नेपालमा सार्वजनिक पद धारण गरेको अभियोगमा आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


क्लिकमान्डु