९ महिनामा नेपालको व्यापारघाटा साढे १० खर्ब रुपैयाँ, निर्यात ४ प्रतिशतले घट्यो



काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा साढे १० खर्ब रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आवको चैतसम्ममा नेपालले १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको हो ।

गत आवको सोही अवधिमा नेपालले १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको थियो । जसमा गत आवको तुलनामा चालु आवको ९ महिनाको अवधिमा २.७५ प्रतिशतले कम व्यापारघाटा व्यहोरेको छ ।

नेपालले चैतसम्ममा १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत आवको सोही अवधिमा नेपालले १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । जसमा गत आवको तुलनामा २.९२ प्रतिशतले कम वैदेशिक व्यापार गरेको छ ।

विभागअनुसार नेपालले ९ महिनाको अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । गत आवको तुलनामा यो वर्ष २.८४ प्रतिशतले कम आयात गरेको छ । गत आवमा नेपालले १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।

त्यस्तै चालु आवको ९ महिनामा निर्यात पनि ३.६६ प्रतिशतले घटेको छ । नेपालले गत आवको ९ महिनामा १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो । चालु आवमा १ खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैयाँको निर्यात गरेको छ ।

नेपाल सरकारले आयातित वस्तु तथा सेवाबाट ३ खर्ब ६ अर्ब ८० करोड १८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।


क्लिकमान्डु