२०२४ मा विश्वको आर्थिक वृद्धि ३.२% हुने आईएमएफको प्रक्षेपण, भारतको वृद्धिदर ६.८%



वासिङटन डिसी, अमेरिका । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशतले हुने अनुमान सार्वजनिक गरेको छ ।

अमेरिकाको राजधानी वासिङ्टन डिसीमा वर्ल्ड इकोनमिक आउटलुक सार्वजनिक गर्दै आईएमएफले सन् २०२४ मा पनि सन् २०२३ जति नै आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको हो ।

यसअघि कोषले गत जनवरीमा सन् २०२४ मा ३.१ प्रतिशतले आर्थिक वृद्धि हुन सक्ने अनुमान गरेको थियो ।

कोरोना महामारीको संकटपछि आर्थिक गतिविधिमा भइरहेको सुधारले आर्थिक वृद्धिको लक्ष्यमा वृद्धि भएको कोषले जनाएको छ ।

सन् २०२२ को मध्यमा उच्च विन्दुमा पुगेको महँगी क्रमश घट्ने क्रममा रहेको र रोजगारी र आम्दानीका अवसर क्रमश बढीरहेको कोषको सार्वजनिक गरेको आउटलुकमा उल्लेख छ ।

सन् २०२४ मा समृद्ध राष्ट्रहरुको आर्थिक वृद्धि १.७ र उदयिमान राष्ट्रको आर्थिक वृद्धि ४.२ प्रतिशतले हुने कोषको अनुमान छ ।

कोषले सार्वजनिक गरेको आउटलुकमा नेपालको दुई तिहाईभन्दा बढी व्यापार हुने भारतको आर्थिक वृद्धि ६.८ प्रतिशतले हुने कोषले अनुमान गरेको छ । जुन कोषले सार्वजनिक गरेको देशहरु मध्ये सबैभन्दा बढी हो । सन् २०२३ मा भारतको अर्थतन्त्र ७.८ प्रतिशतले बढेको थियो ।

सन् २०२३ मा ०.३ प्रतिशतले संकुचित भएको जर्मनीको अर्थतन्त्र ०.२ प्रतिशतले बढ्दा समग्र युरोक्षेत्रको अर्थतन्त्र ०.८ प्रतिशतले वृद्धि हुने कोषको अनुमान छ ।

सन् २०२३ जर्मनीको अर्थतन्त्रमा आएको संकुचनले युरोक्षेत्रको अर्थतन्त्र ०.४ प्रतिशतले मात्रै बढेको थियो । यस्तै सन् २०२४ मा अमेरिकी अर्थतन्त्र २.७ प्रतिशत, चीनको अर्थतन्त्र ४.६ प्रतिशत,जापानको अर्थतन्त्र ०.९ प्रतिशत, फ्रान्सको अर्थतन्त्र ०.७ प्रतिशत, बेलायतको अर्थतन्त्र ०.५ प्रतिशत र क्याण्डाको अर्थतन्त्र १.२ प्रतिशतले बढ्ने कोषको अनुमान छ ।

उदयीमान देशहरुमध्ये सन् २०२३ मा ०.८ प्रतिशतले संकुचित भएको साउदी अरेबियाको अर्थतन्त्र २.६ प्रतिशतले बढ्दा हुँदा रसिया, ब्राजिल, मेक्सिको,नाइजेरिया तथा एसियान देशको अर्थतन्त्र आगामी दिनमा बलियो हुँदै जाने कोषले जनाएको छ ।

कोषले सन् २०२४ मा ठूला अर्थतन्त्र भएका देशहरुमा महँगी ४.६ प्रतिशतले बढ्दा उदयीमानदेशहरुमा भने ८.३ प्रतिशतले महँगी बढ्ने अनुमान गरेको छ ।

कोषले सन् २०२४ मा इन्धनको मुल्य २.९ प्रतिशतले घट्दा सन् २०२३ मा ६.८ प्रतिशतले बढेको महँगी सन् २०२४ मा ५.९ प्रतिशतमा पुग्ने कोषको अनुमान छ ।


क्लिकमान्डु