हस्तकलाबाट मनग्य आम्दानी गर्दै दाङका महिला



घोराही (दाङ) । यहाँका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन् । विशेष गरी हस्तकलाका विभिन्न सामग्री सामग्री बनाएर उनीहरू आकर्षक आम्दानी गर्न सफल भएका हुन् ।

हस्तकलाका सामग्री उत्पादनका माध्यमबाट आयआर्जनका गतिविधिमा जोडिएपछि घर चलाउन सहजतासँगै बचतसमेत गर्ने गरेको लमही नगरपालिका–५ निवासी सरिता चौधरी बताउँछिन् ।

हस्तकलासम्बन्धी मेरी हस्तकला उद्योग स्थापना गरेर व्यवसाय गर्दै आएकी चौधरीले कला, संस्कृतिको संरक्षणसँगै आफूजस्ता महिलाका लागि आम्दानीको स्रोत बनेको बताइन् ।

हस्ताकलाका सामग्री उत्पादन गरेर आम्दानी गर्दै आएकी चौधरीले भनिन्, ‘हस्तकलासम्बन्धी काम गर्दा हराउँदै गएको सीपको संरक्षणसँगै व्यवसायबाट आम्दानी हुने गरेको छ ।’ उनका अनुसार थारू समुदायसँग सम्बन्धित हस्तकलाका सामग्री खपत राम्रो हुने भएकाले बनाउन सके महिनामा १५–२० हजार सजिलै कमाउन सकिने उनले बताइन् ।

हस्तकला व्यवसाय नगर्दा घरको काम सकेर फुर्सदिलो भएर बस्नुपर्ने भए पनि काम सुरु गरेपछि पछिल्लो समय फुर्सद नहुने गरेको उनको भनाइ छ । उनले गमला, ढकिया, टोकरी, पेनहोल्डर, हटकेस, थाल टोकरी, ट्रेलगायतका सामग्री बनाउँदै आएकी छन् । सरिताजस्तै सुमित्रा चौधरी पनि हस्तकलाका सामग्री उत्पादन गरी आम्दानी गर्दै आएकी छन् । तीन वर्षअघि सीप सिकेर हस्ताकलाका सामग्री उत्पादनमा लाग्नुभएकी सुमित्राले महिनामा २० हजारसम्म कमाउने गरेको बताइन् ।

घरको काम गरेर बचेको फुर्सदको समयमा आफूले सामग्री बनाएर बिक्री गर्ने गरेको बताइन् । उनले भनिन्, ‘घरको कामसँगै हस्तकलाका सामग्री उत्पादन गर्नुपर्ने भएकाले धेरै समय मिल्दैन । सामग्री उत्पादनमा मात्रै लाग्नुभएका महिलाले महिनामा रु ३० हजारसम्म कमाउने गर्नुभएको छ ।’


क्लिकमान्डु