वैदेशिक लगानी आकर्षित गर्न एक दर्जन ऐनको परिमार्जन अन्तिम चरणमा: उद्योग मन्त्री



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी तथा विदेशी लगानी अभिवृद्धिमार्फत समृद्ध नेपाल निर्माणमा मन्त्रालय उद्योग वाणिज्य क्षेत्रको योगदान बढाउन प्रतिवद्ध भइ लाग्नुपर्ने समय आएको बताएका छन् ।

मंगलवार नेपाल उद्योग परिसंघको २१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले संघीयता अनुकुलका नीतिगत कानूनी एवं संस्थागत व्यवस्था गर्दै तीन तहको संघीयता शासन प्रणालीमा उद्योग तथा व्यापार क्षेत्रलाई थप व्यवस्थित तथा सहजीकरण गर्न सरकार क्रियाशिल रहेको बताए ।

सरकारले लगानी सम्मेलनको तयारी गरिरहेको र वैदेशिक लगानीलाई आकर्षित गर्न करिव एक दर्जन ऐनको परिमार्जन गर्ने कार्य अन्तिम चरणमा पुर्‍याएको उनको भनाइ छ ।

राष्ट्रिय हितलाई केन्द्रमा राख्दै दुई पक्षीय लगानी प्रवद्र्धनका लागि सरकारले हालै पिआइआईको नमूना ढाँचा स्वीकृत गरेको बताए । इ कमर्स, डिजिटल व्यापार तथा सूचना प्रविधिको उच्चतम प्रयोगसहित आर्थिक गतिविधिलाई लागतप्रभावी, प्रतिष्पर्धी र सहज बनाउन सरकारले उच्च महत्व दिएको दाबी गरे ।

मन्त्री भण्डारीले नेपालका हिमाल, पहाड र तराईको प्राकृतिक साधन, खानी तथा खनिजजन्य श्रोतको उपयोग गर्न अब ढिलाइ गर्ने छुट नरहेको बताए । उनले कच्चा पदार्थ, सीप तथा कौशलताको प्रयोग गर्दै विदेशी लगानीको प्रवद्र्धन तथा प्रविधि हस्तान्तरणको वातावरण विकास गरी विभिन्न वस्तु तथा सेवाको मूल्य श्रृंखला विकास गर्नु आजको अनिवार्य आवश्यकता भएको बताए ।


क्लिकमान्डु