एक्सरे मेसिन बिग्रिएको डेढ महिना हुँदा पनि नबनाएको भन्दै कार्गो व्यवसायीले बन्द गरे सामान निकासी



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपास एक्सरे (स्क्यानिङ) मिसिन नभएको भन्दै कार्गो व्यवसायीहरुले सामान निकासी गर्न बन्द गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो वेयरहाउसमा सामान निकासी जाँचपासको क्रममा प्रयोग हुने एक्सरे (स्क्यानिङ) मिसिन बिग्रिएको डेढ महिना बढी हुँदा पनि नबनाएको भन्दै आइतवारबाट व्यवसायीहरुले सामान निकासी गर्न बन्द गरेका हुन्।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा व्यवसायीहरुले भेला भइ नेपाल पारवहन तथा गोदाम लिमिटेडले एक्सरे (स्क्यानिङ) मिसिनको सञ्चालन गर्दै आइरहेको र डेढ महिना हुँदा पनि बिग्रिएको मेसिन बनाउन नलागेको भन्दै उनीहरुले आफूहरुको काम बन्द गरेको बताए ।

कार्गो व्यवसायी खेमराज सुवेदीले नेपाल पारवहन तथा गोदाम लिमिटेडले बिग्रिएको मेसिनको मर्मतसम्भार पनि नगरेको र नयाँ थप्ने कुरामा पनि चासो नदिएको आरोप लगाए ।

सामान जाँचपास गराउनलाई धेरै समस्या भएकाले बाध्य भएर सामान पठाउन नसकेको उनले बताए । उनले सामान पठाइसकेपछि केही समस्या आए को जिम्मेवारी हुन्छ ? भन्दै प्रश्न गरे ।

सामान निकासीमा विमानस्थलमा पारवहन गोदामको चरम लापरवाही भएको उनले आरोप लगाए ।

दुई दिनदेखि व्यापारीका सामान ल्याएर थन्क्याएको र मेसिन नहुँदा जाँचपास नभएको भन्दै आइतवारबाट पूरै काम ठप्प पारेको उनले बताए ।

मेसिन नभएसम्म व्यवसायीहरुले कुनै पनि चुनौति लिएर सामानहरु क्लियरिङ र फर्वाडिङ नगर्ने सुवेदीले घोषणा गरे । लिमिटेड मर्मतसम्भारका लागि ३० लाख रुपैयाँ पर्ने र नयाँ किन्न पनि बजेट नरहेको भन्दै भाग्ने काम गरिरहेको उनको आरोप छ । तीन निकायहरु पारवहन गोदाम, भन्सार र सिभिल एभिएसन एकले अर्कोलाई आरोप देखाएर बसिरहेका व्यवसायीहरुको भनाइ छ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो वेयरहाउसमा जुन सामान निकासी जाँचपासको क्रममा यो एक्सरे मिसिन जुन स्क्यानिङ गरिन्छ, सामान जाँच पास गर्दा । त्यो बिग्रिएको आज डेढ महिना भयो । यो नेपाल पारवहन तथा गोदाम लिमिटेडले यसको यसलाई सञ्चालन गर्दै आएको छ । यो आज डेढ महिना बितिसक्दा पनि यसको मर्मतसम्भार नयाँ थप्ने यावत कुराहरु नगरेको हुँदा हामीलाई सामान जाँचपास गराउनलाई धेरै नै समस्या भयो’ उनले भने ।

उनीहरुले व्यापारीहरुले व्यापार गर्ने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका छन् । व्यापारको वातावरण नबनाइदिए तालाचाबी दिन आग्रह गर्दै त्यसपछि विदेश वा घर जाने भन्ने बारेमा निर्णय लिने व्यवसायीको चेतावनी छ ।


क्लिकमान्डु