रासायनिक मल खरिदका लागि १५ अर्बको स्रोत सुनिश्चित, ठेक्का प्रक्रिया सुरु



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १५ अर्बको स्रोत सुनिश्चित गरी रासायनिक मल खरिदको लागि टेण्डर प्रक्रिया सुरु गरेको छ ।

आइतबार सिंहदरबारमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी सिजनका लागि रासायनिक मलको विषयमा गरेको छलफलमा यसबारेमा जानकारी गराएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसानहरुलाई रासायनिक मलको अभाव हुन नदिनको लागि आगामी वर्षको बजेटमा १५ अर्बको स्रोत सुनिश्चित गरी मल खरिदको लागि टेण्डर प्रक्रियामा गएको बताएको छ ।

मन्त्रालयले किसानहरुलाई खेतीको सिजनमा रासायनिक मलको अभाव हुन नदिने उद्देश्यले बजेट अगावै स्रोत सुनिश्चित गरी रासायनिक मल खरिद प्रक्रिया सुरु गरिएको जनाएको हो ।

कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले आगामी वर्षको लागि १५ अर्बको स्रोत सुनिश्चिता गरेर रासायनिक मल खरिदको टेण्डर प्रक्रियामा गएको बताए ।

सचिव शर्माले १५ अर्ब रकम स्रोत सुनिश्चित गरी २ लाख ६० हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढेको जानकारी दिए । उनले गहुँका लागि आवश्यक मल खरिदको लागि बजेट कुर्दा प्रक्रिया ढिला हुने भएकाले बजेट अगावै स्रोत सुनिश्चि गरेर टेण्डर गरिएको बताए ।

यो वर्ष पनि रासायनिक मलको अभाव नहुने उनको दाबी छ ।

अहिले ५१ हजार मेट्रिक टन डीएपी आयात भइरहेको र ९० हजार मेट्रिक टन युरिया मल हुँदा यो वर्षलाई पुग्ने उनको भनाइ छ।

सरकारसँग युरिया मल पर्याप्त मात्रामा मौज्दात रहेको उनको भनाइ छ । २ लाख १० हजार मेट्रिक टन युरिया,९७ हजार ८६५ डीएपी र १३ हजार ९५१ पोटास गरी ३ लाख २२ हजार ३६९ मेट्रिक टन मल आयात भइरहेको उनले बताए ।

चालु आर्थिक वर्षमा युरिया १ लाख ७६ हजार,डीएपी १ लाख ८ हजार ७९७ र पोटास ९ हजार मल वितरण गरिएको उनले बताए।

कृषिमन्त्री ज्वालाकुमारी साहले रासायनिक मल खरिद प्रक्रियालाई तिब्रता दिनेगरी कार्यविधि बनाउन आवश्यक रहेको बताइन् । उनले कार्यविधिमार्फत मल आयात हुन नसक्दा संधै विवाद र झमेला भइरहेको बताइन् ।

मन्त्री शाहले नेपालमा मल कारखानाको स्थापना गर्न नसकेसम्म समस्या झेल्नुपर्ने बताइन् । मन्त्री ज्वालाले रासायनिक मलको अर्को विकल्प नभएसम्म खरिद प्रक्रिया तिब्र गतिमा लैजानलाई कार्यविधि बनाएर अघि बढ्नुपर्ने बताएकी हुन् ।


क्लिकमान्डु