नागढुंगा-सिस्नेखाला सुरुङमार्गको उदघाट्न प्रधानमन्त्रीले पौने १ बजे गर्ने, हिन्दू र जापानी संस्कृतिअनुसार पूजा



काठमाडौं । नेपालमा बन्न लागेको पहिलो ट्रान्सपोर्ट टनेल (सुरुङमार्ग) सिस्नेखाला–नागढुंगा सुरुङमार्गको अन्तिम ‘ब्रेक थ्रु’ प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यतालिका तयार भएको छ ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार ब्रेक थ्रुको लागि भोलि(सोमबार) दिनको १२ बजेर ४५ मिनेटको समय निर्धारण गरिएको छ । त्यो अवधिमा नेपाली पक्षले हिन्दू परम्पराअनुसार पूजाआजा गर्ने र जापानी पक्षले आफ्नो धर्मअनुसार पूजा गर्ने कार्यतालिका छ।

पूजा सकिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, जाइकाका उच्च अधिकारीसहितको टोलीले संयुक्त रुपमा उक्त सुरुङमार्गको अन्तिम छेड्ने काम (ब्रेक थ्रु) गर्ने कार्यक्रम तय भएको छ ।

कार्यक्रममा सहभागिता हुन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित काठमाडौं र धादिङका केही साँसदहरुलाईसमेत निम्तो गरिएको छ । ओली प्रधानमन्त्री हुँदा २०७६ कात्तिकमा उक्त सुरुङमार्गको निर्माण कार्य सुरु भएको थियो ।

यसका लागि खन्न बाँकी रहेको २ मिटर दूरी सुरक्षितरुपमा राखिएको छ । कूल २ हजार ६ सय ८८ मिटरको मूल सुरुङ मार्गमध्ये २ हजार ६ सय ८६ मिटर खन्ने काम सकिएको छ । अब २ मिटर मात्रै खन्न बाँकी राखिएको हो । बाँकी भागलाई ब्लास्ट गर्ने तयारी गरिएको छ ।

यहि २ मिटर क्षेत्रलाई ब्लास्टिङ्ग गरेर सुरुङमार्गको पूर्व नागढुंगा र पश्चिम सिस्नेखोलातर्फबाट एकआपसमा मुख जोड्ने काम सोमबार सम्पन्न गरिनेछ ।

ब्रेक थ्रुपछि अन्य विभिन्न प्रकारका निर्माण कार्यसम्पन्न भएपछि १ बर्षपछि मात्रै सबारी साधन गुडाउन सर्वसाधारणका लागि यो मार्ग खुला गरिनेछ ।


क्लिकमान्डु