भारतबाट प्राकृतिक रबर आयात गर्नेमा नेपाल पाँचौं स्थानमा, भारतले कति निर्यात गर्छ?



काठमाडौं । सन् १९०२ बाट प्राकृतिक रबरको व्यवसायिक कारोबार गरेको भारत विश्वको छैठौं ठूलो रबर उत्पादक देश हो ।
दक्षिण एसियामा थाइल्याण्ड, इन्डोनेसिया र भियतनामपछि सबैभन्दा बढी रबर उत्पादन गर्दै आएको भारतले वार्षिक अर्बौं रुपैयाँको रबर निर्यात गर्दै आएको छ ।

भारतीय रबर बोर्डअनुसार भारतले तीन प्रकारका रबर उत्पादन गर्दै आएको छ । भारतमा प्राकृतिक रबर, सेन्थिटिक रबर र रिक्लेम्ड रबर उत्पादन हुने गरेको छ ।

प्राकृतिक रबर विशेषगरी टायर, ग्लोभ्स र अन्य सामग्री उत्पादन गर्न प्रयोग हुन्छ । भारतले वार्षिक ७ लाख टन बढी प्राकृतिक रबर उत्पादन गर्दै आएको छ । भारतले सन् २०२१/२२ मा ७ लाख ७५ हजार टन रबर उत्पादन गरेको थियो । सो वर्ष सन् २०२०/२१ को तुलनामा ८.३९ प्रतिशतले उत्पादन बढेको जनाएको छ ।

भारतमा रबर सम्बन्धी गरिएको एक अध्ययनले सन् २०२०/२१ मा ७ लाख १५ हजार टन प्राकृतिक रबर उत्पादन गरेको उल्लेख छ । त्यस्तै सन् २०२२/२३ मा ८ लाख ‍३९ हजार टन प्राकृतिक रबर उत्पादन गरेको ‍छ ।

अध्ययनअनुसार भारतमा उत्पादनभन्दा बढी रबर खपत हुँदै आएको छ । भारतमा सन् २०२१/२२ मा १२ लाख ३८ हजार प्राकृतिक रबर खपत भएको थियो । सन् २०२०/२१ मा १० लाख ९६ हजार ४१० रबर खपत भएको थियो । सन् २०२२/२३ मा १३ लाख ५० हजार टन रबर खपत भएको उल्लेख छ ।

भारतले बजारको माग धान्नका लागि विभिन्न देशबाट प्राकृतिक रबर आयात गर्दै आएको छ । भारतले सन् २०२३ मा मात्रै ५ लाख २८ हजार ६७७ टन प्राकृतिक रबर आयात गरेको थियो । सन् २०२२ मा ५ लाख ४६ हजार ३६९ टन, सन् २०२१ मा ४ लाख १० हजार ४७८ टन र सन् २०२० मा ४ लाख ५७ हजार २२३ टन प्राकृतिक रबर आयात गरेको तथ्याङ्कले देखाउँछ ।
भारतले आयातसँगै निर्यात पनि उच्च गर्दै आएको छ । सन् २०२३ मा भारतले ३७ सय टन प्राकृतिक रबर निर्यात गरेको छ । भारतले निर्यात गर्ने प्राकृतिक रबरमा नेपालले पनि ठूलो हिस्सा ओगटेको छ । अध्ययन गरेको प्रतिवेदनमा भारतबाट निर्यात हुने प्राकृतिक रबर आयात गर्नेमा नेपाल शीर्ष पाँच स्थानमा छ ।

भारतबाट सबैभन्दा बढी रबर आयात गर्नेमा श्रीलंका छ । भारतले निर्यात गर्ने प्राकृतिक रबरमा श्रीलंकाले २०.६९ प्रतिशत हिस्सा ओगटेको छ । श्रीलंकापछि भारतबाट निर्यात हुने रबरमा मलेसियाको १५.४७ प्रतिशत, भियतनाको ११.५६ प्रतिशत र इजिप्टको १०.३३ प्रतिशत हिस्सा ओगटेको छ । भारतबाट निर्यात हुने प्राकृतिक रबरमा नेपालको ८.५८ प्रतिशत हिस्सा छ ।
त्यसपछि साउदी अरेबिया, चीन, इन्डोनेसिया, बंग्लादेश, टर्की, अमेरिका, युएई, स्पेन, कतार, इरान, थाइल्यान्ड, तान्जानिया र अन्य देश छन् ।

त्यसैगरी भारतले सेन्थिटिक रबर पनि निर्यात गर्दै आएको छ । भारतले सन् २०२२/२३ मा ६९ हजार ९३८ टन सेन्थेटिक रबर निर्यात गर्दै आएको छ । सन् २०२१/२२ मा ९२ हजार ५६१ टन निर्यात गरेको थियो भने सन् २०२०/२१ मा ९६ हजार ८४८ टन रबर निर्यात गरेको थियो ।

तर भारतले बजार माग धान्नका लागि सेन्थेटिक रबर उच्च आयात गरेको पाइन्छ । तथ्याङ्कअनुसार भारतले सन् २०२२/२३ मा ५ लाख २९ हजार ७२० टन, सन् २०२१/२२ मा ५ लाख १९ हजार ११७ टन र सन् २०२०/२१ मा ६ लाख १३ हजार ८७८ टन सेन्थेटिक रबर आयात गरेको थियो ।

त्यस्तै भारतले निर्यात गर्ने सेन्थेटिक रबर आयात गर्नेमा नेपाल शीर्ष १२औं स्थानमा छ । भारतले निर्यात गर्ने उक्त रबर नेपालले ३.७२ प्रतिशत हिस्सा ओगटेको छ । प्रतिवेदनमा भारतबाट सबैभन्दा बढी सेन्थेटिक रबर अमेरिका निर्यात गरेको पाइएको छ । अमेरिकामा भारतले सन् २०२२/२३ मा ६९ हजार टन निर्यात गरेकोमा ११.२३ प्रतिशत हिस्सा ओगटेको छ ।

दोस्रोमा थाइल्यान्ड रहेको छ । भारतले निर्यात गरेको सेन्थेटिक रबरमा थाइल्यान्डको १०.८ प्रतिशत हिस्सा रहेको छ । त्यसपछि चीनको हिस्सा ८.७ प्रतिशत, बंगलादेशले ७.२९ प्रतिशत, श्रीलंकाले ७.७ प्रतिशत, युएईले ८.२९ प्रतिशत, भियतनामले ६.१३ प्रतिशत, इन्डोनेसियाले ४.०१ प्रतिशत र टर्कीले ४.१७ प्रतिशत हिस्सा ओगटेको छ ।

त्यस्तै मलेसिया, इजिप्ट, ब्राजिल, लात्भिया र अन्य देश रहेका छन् । विश्वबजारमा सन् २०२३ मा ३० अर्ब ९१ करोड ४३ लाख अमेरिकी डलरको प्राकृतिक रबर खपत भएको जनाएको छ ।

विश्वमा सबैभन्दा बढी प्राकृतिक रबर थाइल्याण्डले उत्पादन गर्दै आएको छ । थाइल्याण्डमा मात्रै ३३.४ प्रतिशत रबर उत्पाद हुने गरेको छ । त्यसपछि इन्डोनेसियाले प्राकृतिक रबर उत्पादनको २१.८ प्रतिशत हिस्सा ओगटेको छ । त्यसैगरी कोटे डी इभियोरले ९ प्रतिशत, भियतनामले ८.७ प्रतिशत, भारतले ५.८ प्रतिशत र चीनले ५.२ प्रतिशत हिस्सा ओगटेको छ ।

उत्पादनमा थाइल्याण्ड पहिलो भएपनि प्राकृतिक रबर खपत गर्नेमा पहिलो देश चीन रहेको छ । चीन एक्लैले ३९.८ प्रतिशत उत्पादन प्राकृतिक रबर खपत गरेको पाइएको छ । चीनपछि भारतले ९ प्रतिशत, थाइल्याण्डले ७ प्रतिशत, अमेरिकाले ६.४ प्रतिशत, जापानले ४.५ प्रतिशत र इन्डोनेसियाले ४.१ प्रतिशत उत्पादित प्राकृतिक रबर खपत गर्दै आएको छ ।


क्लिकमान्डु