लगानीको वातावरणको सन्देश दिन १० अर्बको कम्पनी बनाउँदै निजी क्षेत्र



काठमाडौं । नेपालमा लगानीको वातवारण छ भन्ने सन्देश दिन निजी क्षेत्रका व्यवसायीहरुले १० अर्ब रुपैयाँको पब्लिक कम्पनी बनाउने भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले भने ‘पछिल्लो समय अर्थतन्त्र संकुचनमा गएकोले लगानीको वातावरण छैन भन्ने भ्रम चिर्न पनि व्यवसायीले १० अर्बको कम्पनी बनाएर जान लागेको हुन् ।’

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार राजधानीमा आयोजना गरेको ५८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भने ‘हाम्रा युवाहरुका सपना खाडीमा खेर जान नदिन र उद्यमीको मोहरलाई रुपैयाँ बनाउने अवसर दिनुपर्ने बेला भएको छ ।’

नेपालको निजी क्षेत्रलाई थप हौसला प्रदान गर्नुपर्ने भएकोले देशको विकास गर्न जिम्मा निजी क्षेत्रलाई दिन उनले आग्रह गरे । निजी क्षेत्र समृद्धिको नेतृत्व लिन तयार भएकोले मात्र वातावरणको खाँचो रहेको उनले बताए ।

नेपालको विकास गर्न सबै मिलेर वातावरण निर्माण गर्नुपर्ने र आजैदेखि अर्थतन्त्रलाई सबल बनाउन लाग्नुपर्ने पनि ढकालले बताए । उनले निजी क्षेत्रले पाँच बुँदे प्रतिवद्धतापत्र पेश गरेका त्यसबाट सकारात्मक अपेक्षा गरिएको पनि बताए ।


क्लिकमान्डु