सहकारीबारे रविमाथि छानबिनका लागि समितिको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध



काठमाडौं । सहकारीका विषयमा संसदीय समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ । संसद बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उभिएका थिए ।

कांग्रेस सांसदहरुले बिरोध जनाएपछि सभामुख देवराज घिमिरेले समय दिएका थिए । त्यसपछि कांग्रेस सचेतक सुशीला थिङले सहकारी ठगीबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको आफूहरुको पुरानै मागलाई दोहोर्‍याइन् । सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै उनले समिति नबनेसम्म संसद अघि बढ्न नसक्ने चेतावनी दिइन् ।

उनले बोलिसकेपछि सभामुख घिमिरेले रास्वपा सांसद मनिष झालाई बोल्न समय दिएका थिए । तर कांग्रेस सांसदहरु उभिइरहँदा झाले बोल्न पाएनन् । त्यसपछि सत्तारुढ दलका सांसदहरु पनि उभिए ।

सभामुख घिमिरेले संसदमा धेरै विषयमा छलफल गर्नुपर्ने भएकाले सहजीकरण गर्न प्रमुख प्रतिपक्षी कांग्रेसलाई आग्रह बारम्बार गरे । तर कांग्रेस सांसदहरु उभिरहे । त्यसपछि सभामुखले १५ मिनेटका लागि संसद बैठक स्थगित गरे ।


क्लिकमान्डु