गौतमश्री बहुउद्देश्यीय सहकारीका संचालकलाई कार्यालय बन्द गर्न, कारोबार नगर्न निर्देशन



काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा भएको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका संचालकलाई कार्यालय बन्द गरेर कारोबार नगर्न निर्देशन दिएको छ ।

समितिले उक्त सहकारीका सन्चालकका साथै बचतकर्ता ऋणी तथा सरोकारवालालाई ६ बुँदे निर्देशन जारी गरेको छ ।

संचालक तथा कर्मचारीले सहकारीसँग सम्बन्धित सम्पुर्ण कागजात तथा सम्पत्तिहरु समिति समक्ष बुझाई कार्यालय बन्द गर्नुको साथै कुनैपनि कारोबार नगर्न निर्देशन दिएको छ ।

समितिले संचालक र कर्मचारीले समिति समक्ष उपस्थित भै आवश्यक सहयोग गर्न, ऋणी सदस्यहरुले यस समितिमा सम्पर्क राखि ऋण भुक्तानी गर्न र साविक संचालक÷कर्मचारीसँग भुक्तानी सम्वन्धि कारोवार नगर्न भनेको छ ।

बचतकर्ताहरुले बचतसँग सम्वन्धित सम्पुर्ण प्रमाणहरु सुरक्षित राखी समितिबाट मागदावी निवेदन आवेदनको सूचना जारी भएपछी समितिसमक्ष निवेदन पेश गर्न आग्रह गरेको छ ।

समस्याग्रस्त घोषित संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागी समितिको कार्यालयसँग मात्र काम कारवाही गर्ने समेत निर्देशन दिएको छ ।

सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चैत १३ गते समस्याग्रस्त घोषणा गरेको सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भूक्तानी सम्बन्धि कार्य समितिले गर्नेछ ।

सोहि ऐनको दफा १११(१) बमोजिम सो सहकारी संस्थाको संचालक समिति, व्यवस्थापन तथा कर्मचारीको अधिकार स्वतः निलम्बन हुने व्यवस्था रहेको जनाएको छ ।

काठमाडौ महानगरपालिका–१४, कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको संस्थाको अध्यक्षमा राम बहादुर गौतम रहेका छन् ।

अध्यक्ष गौतम र उनकी पत्नी निर्मला खत्री गौतमले सहकारीको नाममा रहेको पैसाबाट घर-जग्गा गरिद गरेका छन् । उनीहरुले बचतकर्ताको २ अर्ब भन्दा बढि बचत फिर्ता नगरेको भन्दै उजुरी परेको छ ।


क्लिकमान्डु