चरिकोटबाट कालिञ्चोक जाने सडक कालोपत्र अन्तिम चरणमा
दोलखा । चरिकोटबाट कालिञ्चोक जाने चरिकोट-देउराली सडक कालोपत्र अन्तिम चरणमा पुगेको छ । आउँदो वैशाखसम्म कालोपत्र सम्पन्न हुने भएको हो । सडक ट्रयाक खुलेको ३० वर्षपछि कालोपत्रको ठेक्का लागेको थियो । कालोपत्र भएपछि कालिञ्चोक जाने यात्रुलाई यात्रा सहज हुनेछ । सडक विस्तार र कालोपत्रको काम अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
सडकको पर्खाल, नाली, कल्भर्टलगायतका पूर्वाधार निर्माण गरी अहिले कालोपत्रको काम अन्तिममा पुगेको र केही दिनमा सम्पन्न हुने पूर्वाधार विकास कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर भरतकुमार यादवले बताए । उनले ९८ प्रतिशत भौतिक प्रगति भइसकेको जानकारी दिए ।
सडक ग्रेडिङ गरी सब-बेसको काम पूरा भईसकेको प्रमुख यादवको भनाइ छ । देउरालीदेखि सुरु गरेको कालोपत्र अघिल्लो जेठमै एक किलोमिटर सम्पन्न भएको थियो । केही दिन अगाडी सकिने काम पानी परेकाले रोकिएको कार्यालयले जनाएको छ ।
सडकको लम्बाइ पाँच किलोमिटर र चौडाइ छ मिटर छ । सडकमा दुईतर्फी गाडी आवतजावत गर्न सक्ने प्राविधिकको भनाइ छ । सडक कालोपत्र गरिसकेपछि रङरोगन, ट्राफिक चिन्ह राख्ने काम हुने कार्यालयले जनाएको छ । मौसमले साथ दिएमा एक साताभित्र कालोपत्र पूरा गरी वैशाखभित्र सम्पूर्ण काम सकिने प्रमुख यादवले बताए ।
१८ महिनामा काम पूरा सम्झौता सहित २०७९ भदौ २ गते जय धनन्जय/गणेश, कुण्ड/भुजेल जेभी ओखलढुङ्गाले ठेक्का लिएको थियो । निर्माण व्यवसायीका प्रतिनिधि सुदिप सुनुवारले समयमा साइट क्लियर भएपनि २०८० साउनदेखि मङ्सिरसम्म क्रसर बन्द हुँदा निर्धारित समयमा काम पूरा गर्न नसकेको बताए ।
‘ठेक्का सम्झौताअनुसार १८ महिनामा सम्पन्न गर्नुपर्ने भएपनि हामी एक वर्षभित्रै पूरा गर्ने गरी कामलाइ तिव्रता दिइरहेका थियौँ,’ निर्माण व्यवसायी सुनुवारले भने, ‘सिम्पानीमा दुई सय मिटर नयाँ ट्रयाक खोल्नुप-यो क्रसर बन्दले निर्माण सामग्री पाएनौँ ।’ सडक विस्तारको क्रममा सबैभन्दा जटिल मानिएको भीमेश्वर नगरपालिका-६ सिम्पानीमा रहेको नेपाली सेनाको पश्चिमतिरको घेराबार सार्न, खानेपानीका पाइप र विद्युत्का पोल हटाउने काम ढिलाइ हुँदा समग्र काम ढिला भएको उनले बताए ।
ढल विकासको कामले सडकको सतह विगारेकाले सुधार्न थप लगानी गर्नुपरेको निर्माण व्यवसायीको भनाइ छ । सडकको १७ करोड ३५ लाखमा ठेक्का आह्वान भएकोमा निर्माण व्यवसायले मूल्य अभिवृद्धि करसहित १२ करोड ९० लाखमा सम्झौता गरेको थियो । पूर्व निर्धारित डिजाइन अनुसार काम थपिएपछि लागत पनि बढ्ने अनुमान छ ।
सम्झौता अनुसार समयमा काम पूरा नभएपछि तीन महिना म्याद थप भएको थियो । भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले कालोपत्र सम्पन्न भएपनि सुस्ताउँदै गएको चरिकोट बजारलाई चलायमान हुने विश्वास व्यक्त गर्नुभयो । चरिकोटबाट कालिञ्चोक जाने सडकको दुरावस्थाले गर्दा मकैबारीबाट पर्यटक कालिञ्चोक जाने गरेका छन् ।
चरिकोटका व्यवसायीले कालिञ्चोक जाने सडक एकतर्फी बनाउनुपर्ने मागगर्दै आएका छन् । पूर्वाधार विकास कार्यालयले कालिञ्चोक जाने देउरालीदेखि माथिल्लो सडक पनि सुधार गर्दै आएको छ ।