यस्तो छ ‘रात्रिकालीन व्यवसाय’ का लागि सरकारले तोक्न लागेको आचारसंहिता



काठमाडौं । सरकारले राजधानीमा रात्रिकालिन व्यवसायको लागि आचारसंहिता निर्धारण गरेको छ ।

मुख्यगरी पर्यटनको अत्यधिक चहलपहल हुने राजधानीको ठमेल र दरबारमार्ग क्षेत्र २४ सैं घण्टा खुल्ला गर्ने बिषयमा गृहमन्त्रालयले सरोकारवालासँग शुक्रबार छलफल गरेको थियो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितको उपस्थितिमा भएको छलफलमा पूर्ण समयमा व्यापार तथा व्यवसाय सञ्चालनसम्बन्धी कार्यविधिमा भएका व्यवस्थाबारे काठमाडौंका सीडीओ जितेन्द्र बस्नेतले जनकारी गराएका थिए ।

उक्त व्यवस्थाअनुसार राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिर्वाय रूपमा ध्वनी नियन्त्रण ‘साउन्ड प्रुफ’ गर्ने व्यवस्था गर्नुपर्ने छ । बिहान ४ बजेसम्म सञ्चालनमा रहने त्यस्ता व्यवसायका लागि छुट्टै आचारसंहिता तयार पारिएको छ ।

जसमा श्रमिकको नाम, थर, ठेगानासहितको व्यक्तिगत विवरणको लगत तयार गरेर राख्नुपर्ने, डान्स बार, दोहोरी, लाइभ बार एण्ड लाउन्ज बार, पब, बार, क्लब र डिस्कोमा १८ वर्षभन्दा मुनिका बालबालिकालाई ग्राहकको रूपमा प्रवेश गराउन पाइने छैन ।

कार्यविधिले सम्पूर्ण रात्रिकालीन व्यवसायीका लागि सम्पूर्ण सुरक्षा तथा मापदण्ड व्यवस्था गर्दै बिहान ४ बजेसम्म सञ्चालनमा रहने मनोरञ्जनात्मक व्यवसायका लागि केही थप आचारसंहिता व्यवस्था गरेको छ ।

जसमा अत्याधिक मादक पदार्थ सेवनबाट अचेत भएको सेवाग्राहीलाई घरसम्म पुर्‍याउन तथा सुरक्षितरूपमा बस्ने व्यवस्था मिलाउनुपर्ने, कलाकारहरूले गायन तथा पर्दशन गर्दा मौलिकता, संस्कृति झल्किने र सीपमूलक नृत्य प्रदर्शन गर्नुपर्ने, डान्सबार तथा नृत्य प्रदर्शन हुने ठाउँमा अश्लिलता प्रदर्शन नहुने गरी स्वस्थ मनोरञ्जन दिने गरी गायन तथा नृत्य व्यवस्था मिलाउनुपर्ने समेत उल्लेख गरिएको छ ।


क्लिकमान्डु