हिन्दु मुस्लिम बिबादले सुनसरीको भुटाहा तानवग्रस्त: प्रहरीद्वारा ५१ राउण्ड हवाई फायर, केही घाइते



काठमाडौं । शुक्रबार बिहानबाट अशान्त बनेको सुनसरीको भुटाहा बजार तनावग्रस्त बनेको छ । हिन्दु र मुस्लिम समुदाय दोहोरा भिडन्तमा उत्रिएपछि अवस्था नियन्त्रण बाहिर गएको हो । दिउँसो १ बजेपछि सुरु तनाव दोहोरो झडपमा परिणत भएको छ ।

तनावग्रस्त क्षेत्रमा बाक्लो सुरक्षा तैनाथ भए पनि दुई पक्षको हुलका कारण सुरक्षाकर्मी पछि हट्नुपर्ने अवस्थाको सृजना भएको छ । प्रदर्शनकारीले गाउँपालिकाको कार्यालय, इलाका प्रशासन कार्यालय र प्रहरी पोष्टमा क्षति पुर्‍याएका छन् ।

सुनसरी प्रहरीले दिएको जानकारी अनुसार अहिलेसम्म ५१ राउण्ड बढी हवाई फायर भइसकेको छ । दुई जनालाई गोली लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । अश्रुग्यास र हवाई फायर के कति भएको भन्ने विषय यकिन भइ नसकेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले निषेधाज्ञाका बाबजुत भीड नियन्त्रणमा आउन नसकेको बताए । उनले अवस्था नियन्त्रणमा लिन हरसम्भव प्रयास भइरहेको जानकारी दिए ।

यसैबीच अवस्था नियन्त्रण बाहिर जाने देखेपछि सुरक्षा समितिको आपतकालिन बैठक बसेको छ । दलीय प्रतिनिधि सहितको उपस्थितिमा प्रशासन कार्यालयमा बसेको बैठकले अनियन्त्रित बन्दै गएको भीडलाई संयमता अपनाउन पहल गरिदिन सरोकारवाला समक्ष आग्रह गरेको छ ।

कोशी प्रदेशका तीन वटै सुरक्षा निकायका डीआइजी समेतको उपस्थितिमा इनरुवामा सम्पन्न बैठकले अवस्था थप नियन्त्रण बाहिर जाने देखिए सुरक्षाकर्मीले बल प्रयोग गर्नसक्ने चेतावनी दिएको छ । जारी तनाव र प्रदर्शन दक्षिणी भेग हुँदै आसपासका शहर बजारमा समेत बढ्दै गएको छ ।

दुई समुदायका प्रदर्शनकारी आपसमा भिडेपछि भुटाहा बजार सँगै गौतमपुर, देवानगञ्ज लगायत दक्षिणी भेगका अधिकांश क्षेत्र तनावग्रस्त बनेको छ । यो समाचार तयार पार्दासम्म सुनसरी प्रशासनले हरिनगर गाउँपालिकाका सबै वडा र देवानगञ्जको १ र २ नम्बर वडालाई लक्षित गरी निषधाज्ञा जारी गरेको छ । आवश्यक्ता अनुसार दायरा बढाउने वा थप कडाईको आदेश गर्नसक्ने जनाएको छ ।

के थियो घटना ?

भुटाहामा अघिल्लो दिन हिन्दु युवामाथि मुस्लिम युवा समूहले कुटपिट गरेका थियो । घाइते जीवन मेहता धरानमा उपचाररत छन् । उनको अवस्था सुधारोन्मुख रहेको बताइएको छ । उक्त कुटपिटको घटना विषयलाई लिएर स्थानीय हिन्दु समूहले उक्त घटनाको बिरोधमा आज बिहानैबाट प्रदर्शन चर्काएका थिए । मुस्लिम समूहका युवाको कुटपिटमा परेका हिन्दु युवाले मुस्लिम धर्मसँग सम्बन्धित उश्रृङ्खल अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । सोही कारण उनीमाथि आक्रमण भएको बुझिएको छ ।

घटना विषयमा हिन्दु र मुस्लिम दुवै पक्षले आफ्नो पक्षको अडान राख्दै आएका छन् । जसले आज दई समुदायबीच झडपको अवस्था निम्त्याएको हो । घटनामा बाहिरी जिल्लाबाट मानिस आउन प्रशासनले कडाई गरेपनि बिरोधमा सामेल हुन आउनेको संख्या बढ्दै गएको छ ।


क्लिकमान्डु