झरेको कपाल फेरि पलाउन थाले, २० वर्ष कसैले आस नगरे हुन्छ: केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै २० वर्ष राजनीतिमा सक्रिय हुने दाबी गरेका छन् । आफ्ना झरेका कपाल पलाउन थालेको भन्दै उनले २० वर्ष जति अरु कसैले आश नगरे हुने बताए ।

शुक्रबार नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औं जिल्ला अधिवेशनलाई पोखरामा सम्बोधन गर्दै ओलीले देशलाई अगाडि बढाएर गरिबी नहटाएसम्म आफूले राजनीतिबाट सन्यास नलिने बताए । एमालेविनाको नेपाल र केपी ओलीविनाको एमाले भन्नेप्रति दया लाग्ने उनले टिप्पणी गरे।

‘कसैले एमाले बिनाको नेपाल भने, कठै बर । माया लाग्छ, एमाले बिनाको नेपाल । कसैले केपी ओली बिनाको एमाले भने, दया लागेर आउँछ । केपी ओली नभइदिए, यसो गथ्र्यौं, उसो गथ्र्यौं, लाग्या होला,’ उनले भने ।

ओलीले झरेको आफ्नो कपाल फेरि पलाउन थालेको र २० वर्षजति अरुले आश गर्न नमिल्ने तर्क गरे ।

‘मैले पोहोर परार भनेको थिएँ नि, जुँगा अलि काला काला हुन थाले भनेर । अहिले मेरो कपाल सबै झरेको थियो, पलाउन थालेको छ । यो रोपेको होइन, आफैँ पलाउन थालेको छ । मैले भने नि २० वर्ष जति अरु कसैले आश नगरे पनि हुन्छ,’ ओलीले भने, ‘नेकपा एमाले र यस देशलाई ठिक बाटोमा अघि बढाएर यस देशबाट गरिबी हटाएर, भोकमरी हटाएर, अनिमात्रै नेकपा एमालेले अलिकति चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउँछ । अहिले हामीलाई समय छैन, हामी व्यस्त छौँ । झिँगाहरु सरापी रहेका छन्, नेकपा एमाले झन बलियो भएर अघि बढेको छ ।’

अहिले नयाँ सत्ता समीकरणमा एमाले पनि रहेको भन्दै पार्टीका आफ्ना उद्देश्य र नीति नछोडिकन राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने, सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने आवश्यकता रहेको उनले बताए ।

देशलाई राम्रो बाटोमा लैजाने अभिभारामा आफूहरु सफलतापूर्वक अघि बढेको उनले जिकिर गरे ।

अध्यक्ष ओलीले आगामी चुनावमा एमाले एक्लैको बहुमत आउने गरी लाग्न पार्टीका नेता/कार्यकर्ताहरुलाई निर्देशन दिए ।


क्लिकमान्डु