होस्टलको पाँच तलबाट हामफाल्दा नर्सिङ पढ्दै गरेकी किशोरीको मृत्यु



काठमाडौं । दोलखामा होस्टलको पाँच तलामाथिबाट हामफाल्दा १८ वर्षीया किशोरीको मृत्यु भएको छ ।

कास्कीको पोखरा महानगरपालिका-१० रामबजार घर भई हाल दोलखामा बसेर नर्सिङ पढ्दै गरेकी १८ वर्षीया करुणा अधिकारीको पाँच तला माथिबाट फाल हान्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

बिदामा पोखरास्थित घर गएकी उनी गएको बुधबार मात्र चरिकोट फर्किएकी थिइन् । बिहीबार साँझ सवा सात बजे होस्टल रहेको बिल्डिङको पाँच तला माथिबाट हामफालेपछि उनी गम्भीर घाइते भएकी थिइन् ।

स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारको लागि उनलाई भक्तपुर ल्याइएको थियो । उपचारको क्रममा गएराति ‍११ बजे उनको मध्यपुर अस्पतालमा मृत्यु भएको हो ।

चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत रहेकी उनले किन हामफालिन् भन्ने बारे स्पष्ट हुन सकेको छैन । प्रहरीले उनले आत्महत्या गर्नुको कारण नखुलेको जनाएको छ । होस्टल सञ्चालकका अनुसार उनले डिप्रेसनको औषधि खाइरहेकी र आफूहरुले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु