लगानी बोर्डद्वारा ४ हाइड्रोका लागि झण्डै १ खर्ब लगानी स्वीकृत, अरु के के भए निर्णय ?



काठमाडौं ।  लगानी बोर्डको कार्यालयले चार जलविद्युत् आयोजनाको ९९ अर्ब २० करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा बसेको लगानी बोर्डको ५७ औं बैठकले चार जलविद्युत् आयोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो ।

जसमा १६६ मेगावाटको सुपर तमोर (३४ अर्ब ५९ करोड रुपैयाँ), ४२ मेगावाटको अप्पर मोदी ‘ए’ (१० अर्ब ८ करोड रुपैयाँ) , २५० मेगावाटको सोलार राइजन इनर्जी ( २१ अर्ब १०  करोड रुपैयाँ) र १३९.२ मेगावाटको लोवर मर्स्याङदी (३३ अर्ब ४१ करोड रुपैयाँ ) रहेको छ ।

राइजन इनर्जी र लोवर मनाङ मर्स्याङदी विदेशी लगानी भएका आयोजना हुन् । राइजनमा सिंगापुर र लोवर मनाङ मर्स्याङदीमा चिनियाँ लगानी रहेको  छ ।

लोवर मनाङ मर्स्याङदी बुटवल पावर कम्पनीसहित तीनवटा चिनियाँ कम्पनी छन । सिचुवान प्रोभिन्सियल इन्भेष्टमेन्ट ग्रुप, छेन्दु सिनचेङ इन्भेष्टमेन्ट ग्रुप र  कुइङ युआन इन्जिनियरिङ कन्सल्टेन्सीको ८० प्रतिशत सेयर छ । लोवर मनाङ मर्स्याङदी पिकिङ रन अफ दी रिभर (अर्ध-जलाशय) प्रकृतिको आयोजना हो । गण्डकीमा निर्माण हुने यो आयोजना अन्नपूर्ण संरक्षित क्षेत्रभित्र पर्छ।

त्यसै गरी बोर्डको बैठकले  ६ अर्ब ६३ करोड रुपैयाँ  हुवासीन सिमेन्टको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले लगानी सम्मेलनको प्रभावकारी तयारी गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ ।


क्लिकमान्डु