पूर्वन्यायाधीशकी श्रीमती आरतीले इजलासमै गरिन् विष सेवन



फाइल तस्बिर

काठमाडौं । अदालतमा इजलासमा मुद्दाको सुनुवाइ भइरहँदा एक महिलाले विष सेवन गरेकी छन् ।

कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले इजलासमा मुद्दाबारे बहस भइरह्ँदा विष सेवन गरेकी हुन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा बहस चल्दै गर्दा रावलले विष सेवन गरेकी हुन् ।

न्याय माग्दै लामो समयदेखि सडक संघर्ष गर्दै आएकी उनको मुद्दामा बहस चलिरहेको थियो । सो क्रममा उनले विष सेवन गरेको सर्वोच्च स्रोतले दिएको छ । उनले गुट्खाको प्याकेटमा विष राखेर लगेकी थिइन्।

हाल उनको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

यसअघि पुस २८ मा उनले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी थिइन् । उनले श्रीमान् गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा हालेकी छन् ।

उनले श्रीमान् विरुद्ध जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन् । गिरीविरुद्ध कपिलवस्तु जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि गिरी काठमाडौंबाट पक्राउ परेका थिए ।

तर, अदालतले उनलाई धरौटीमा छोड्न आदेश दियो । त्यसपछि पनि श्रीमानसँग छलफलका लागि भेट गरेकोबेला डेरामा पनि आफूमाथि जबरजस्ती करणी गरेको भन्दै उनले प्रहरीमा जाहेरी दिइन् । काठमाडौं जिल्ला अदालतमा पनि उनले बलात्कारको मुद्दा दायर गरेकी थिइन् । जिल्ला अदालतले पनि गिरीलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

जिल्लाको आदेशविरुद्ध उनी पुनरावेदनका लागि उच्च अदालत, पाटन पुगिन् । तर पाटनले पनि जिल्लाकै आदेश सदर गरेपछि सर्वोच्च पुगेकी आरतीले गिरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै आएकी छन् ।


क्लिकमान्डु