विद्यालयले नेपालीपन झल्कने गरी नाम नराखे विद्यार्थी भर्ना रोक्ने महानगरपालिकाको चेतावनी



काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरुलाई मौलिक नामाकरण गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाले सार्वजनिक सूचना निकालेर ७ दिनभित्र मौलिक नामाकरणको प्रक्रिया अघि नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा नै रोक लगाउने चेतवानी दिएको छ ।

शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम १५४ बमोजिम काठमाडौं महानगरपालिका विद्यालय व्यवस्थापन नियमावली, २०७४ को नियम मा नेपालीपन झल्कने गरी विद्यालयहरुको नामाकरण गर्नुपर्ने व्यवस्था छ ।  महानगरपालिका अन्तर्गतका अधिकांश विद्यालयको नाम यो व्यवस्थाको प्रतिकुल देखिएको भन्दै ७ दिनभित्र सम्पर्क गर्न निर्देशन दिइएको छ ।

अधिकांश विद्यालयहरुले विदेशी नाम राखेको महानगरले जनाएको छ । ‘विद्यालयको मौलिक नामाकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभागमा निवेदन दिनुपर्नेछ, ‘ सूचनामा भनिएको छ, ‘अन्यथा प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अ३ बढाइने व्यहोरा समेत जानकारी गराइन्छ ।’

कानुनी व्यवस्था करिब २० वर्ष पहिलेदेखि नै भएपनि महानगरपालिकाले कार्यान्वयन गराउन सकेको छैन । महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ यो कानुनी व्यवस्था कार्यान्वयन गर्ने भनेर लागि परेका छन ।


क्लिकमान्डु