गृहमन्त्री लामिछानेसँग जीबी राई सम्पर्कमा रहेको सूचना हामीसँग छ: कांग्रेस



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा मुछिएका जीबी राई उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँगको सम्पर्कमा रहेको सूचना आफूहरुसँग रहेको बताएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा कांग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री लामिछानेले विपक्षमा रहँदा खरो स्वरमा सरकारले जिबि राईलाई पक्राउ गर्न नचाहेको आरोप लगाएको तर आफू गृहमन्त्री भएपछि सम्पर्कमा भएका व्यक्तिलाई पक्राउ नगरेको आरोप लगाए ।

गृहमन्त्री प्रतिपक्षमा हुनुहुन्थ्यो उहाँले खरो स्वरमा बोल्नुभयो र भन्नुभयो कि सरकारले जिबि राईलाई पक्राउ गर्न चाहेन । सरकारले जिबि राईलाई खोज्नै चाहेन,’ उनले भने, ‘आज बोल्दै गर्दा भनिदिनु भयो आकाशमा होलान् । पातलमा होलान् । हामी लिएर आउँछौँ । मलेसियामा छन् दुनियाँलाई थाहा छ ।’

शर्माले ग्यालेक्सी टीभीका सहयात्री राई अहिले पनि लामिछानेको सम्पर्कमा रहेको सूचना आफूहरुले पाएको बताए ।
‘जीबी राईलाई लिएर आउने कुरामा के कुरामा ढिलाइ भएको छ ? खोज्ने काम सरकारको निकायले गर्ला तर हामीले पाएको सूचनाअनुसार जिबि राई गृहमन्त्रीजीको सम्पर्कमा हुनुहुन्छ’ उनले भने ।

प्रहरी प्रमुखले संसदीय समितिमा मलेसियाको कानुन अनुसार राईलाई सुपुर्दगी गर्न नमिल्ने जवाफ दिए पनि त्यो सही नभएको भन्दै शर्माले मलेसियाको कानुनबारे जानकारी गराए ।

‘मलेसियाको कानूनमा भनिएको छ, यदि कुनैपनि देशको कोही अभियुक्त छ भने सम्बन्धित देशले कुटनैतिक प्रक्रियाबाट माग गर्‍यो भने सुपूर्दगी गर्न सकिन्छ,’ उनले भने, ‘ जीबी राईलाई लिएर आउने कुरामा के कुरामा ढिलाइ भएको छ ? खोज्ने काम सरकारको निकायले गर्ला तर हामीले पाएको सूचनाअनुसार जिबि राई गृहमन्त्रीजीको सम्पर्कमा हुनुहुन्छ । आकाशमा गएर लुक । पातलमा गएर लुक भनिदिने तर आफूसँग सम्पर्कमा भएको तथ्यमा हामी पुगिसकेको तथ्यलाई पनि म राख्न चाहन्छु ।’


क्लिकमान्डु