गृहमन्त्रीमाथि छानबिनका लागि समिति नबने कांग्रेसले संसद चल्न नदिने, अल्टिमेटम सकिएको घोषणा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसले दिएको अल्टिमेटम सकिएको घोषणा गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा सांसद शर्माले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको विषयलाई छानबिन गर्न संसदीय समिति बनाउनका लागि दिइएको अल्टिमेटम सकिएको घोषणा गरेका हुन् ।

विगतमा संसद अवरुद्ध भएको र तोडफोड समेत भएको आफूहरुले देखेको भन्दै प्रतिपक्षको विनम्रता र शालिनता कमजोरी लाग्या हो भन्दै प्रश्न गरे ।

आगामी संसद बैठकमा आउँदा संसदीय छानबिन समिति बनाएर आउन सरकारलाई उनले आग्रह गरे । नेपाली कांग्रेस संसदीय छानबिन समिति बनाउने कुरामा दायाँबायाँ नहुने उनको भनाइ छ ।

‘आज मैले यहाँ उभिएर प्रमुख प्रतिपक्ष दलको तर्फबाट बोल्दै गर्दा केवल प्रमुख प्रतिपक्षी दलको तर्फबाट मात्रै बोलिरहेको छैन । ५० हजारभन्दा बढी सहकारीका पीडित भएका नागरिकहरुको तर्फबाट पनि बोलिरहेको छु । उहाँहरुको तर्फबाट बोल्दै गर्दा मैले जानकारी गराउनुपर्छ, आजबाट हाम्रो अल्टिमेटम सकिएको घोषणा पनि मैले यहाँलाई सुनाउनुपर्छ,’ शर्माले भेन, ‘संसद चलेन । संसद अवरुद्ध भयो । हामीले कसरी–कसरी संसद नचलेको हेरेका छौँ । संसद अवरुद्ध भएको हेरेका छौँ । संसदमा तोडफोड भएको हेरेका छौँ । आज प्रमुख प्रतिपक्षको विनम्रता, शालिनता कमजोरी लाग्यो ? के प्रतिपक्षले उठाएका प्रश्न गलत लाग्यो ? त्यसैले अब आजको बैठक पछाडी सरकारलाई अपिल छ । आउँदो बैठकमा आउँदै गर्दा सरकारले संसदीय छानवीन समिति लिएर आओस् । हामी त्यो कुराभन्दा दायाँ न बाँया हामी उभिने छैनौँ ।’

शर्माले संसदीय समिति बैठकमा प्रहरी प्रमुखले मलेसियाको कानुनका कारण जीबी राईलाई पक्राउ गरेर ल्याउन नसकिएको बताएको भन्दै त्यसको खण्डन गरे ।

सांसद शर्माले मलेसियाको कानुनमा कुनै पनि देशको कोही अभियुक्त भएमा सम्बन्धित देशले कुटनीतिक प्रक्रियाबाट माग गरेमा सुपूर्दगी गर्न सकिने उल्लेख गरिएको बताए । जीबी राईलाई ल्याउन किन ढिलाइ भएको हो भनि उनले प्रश्न गरे । जीबी राई गृहमन्त्री रवि लामिछानेको सम्पर्कमा रहेको सूचना आफूहरुसँग रहेको उनको भनाइ छ ।

‘गृहमन्त्री प्रतिपक्षमा हुनुहुन्थ्यो उहाँले खरो स्वरमा बोल्नुभयो र भन्नुभयो कि सरकारले जिबि राईलाई पक्राउ गर्न चाहेन । सरकारले जिबि राईलाई खोज्नै चाहेन । आज बोल्दै गर्दा भनिदिनु भयो आकाशमा होलान् । पातलमा होलान् । हामी लिएर आउँछौँ । मलेसियामा छन् दुनियाँलाई थाहा छ । प्रहरी प्रमुखले सुपूर्दगी सम्बन्धी कानून छैन भनेर भन्नुभयो । म गृहमन्त्रीजीलाई मलेसियाको कानुन पढाउन चाहन्छु,’ मलेसियाको कानुनबारे संसदमा जानकारी दिँदै उनले भने,’मलेसियाको कानूनमा भनिएको छ, यदि कुनैपनि देशको कोही अभियुक्त छ भने सम्बन्धित देशले कुटनैतिक प्रक्रियाबाट माग गर्‍यो भने सुपूर्दगी गर्न सकिन्छ । जिबि राईलाई लिएर आउने कुरामा के कुरामा ढिलाइ भएको छ ? खोज्ने काम सरकारको निकायले गर्दा तर हामीले पाएको सूचनाअनुसार जिबि राई गृहमन्त्रीजीको सम्पर्कमा हुनुहुन्छ । आकाशमा गएर लुक । पातलमा गएर लुक भनिदिने तर आफूसँग सम्पर्कमा भएको तथ्यमा हामी पुगिसकेको तथ्यलाई पनि म राख्न चाहन्छु ।’

उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको सहमतिबिना अथवा कार्यव्यवस्था परामर्श समितिको सहमतिबिना संसद बैठक सञ्चालनका लागि कार्यसूची नराख्न सभामुखलाई आग्रह गरे ।


क्लिकमान्डु