ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, ४ जनाको मृत्यु



काठमाडौं । ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प गएको छ । ताइवानमा बुधबार ७.२ म्याग्निच्यूटको भूकम्प गएको हो ।

भूकम्पबाट ४ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ । ताइवानमा भूकम्प गएसँगै दक्षिण जापान र फिलिपिन्समा सुनामी जान सक्ने चेतावनी दिएको छ ।

ताइवानको ह्युलियन केन्द्रविन्दु भई भूकम्प आएकाले पूर्वी क्षेत्रमा बसोबास गर्ने ४ जनाको मृत्यु भइसकेको ताइवान सरकारले जानकारी दिएको छ भने ५० जनाभन्दा बढी घाइते भएको रोयटर्सले उल्लेख गरेको छ ।

त्यस्तै कम्तिमा २६ वटा भवन क्षतिग्रस्त भएको जनाएको छ । हाल उक्त क्षेत्रमा फसेका व्यक्तिहरुको उद्धार कार्य भइरहेको छ । ताइवानको केन्द्रिय मौसम प्रशासनका अनुसार भूकम्पको गहिराई १५.५ किलोमिटर रहेको छ ।

बुधवारको भूकम्पपछि अहिलेसम्म ४ म्याग्निट्यूड अथवा सोभन्दा ठूला ९ वटा परकम्प गएका अधिकारीहरूले बताएका छन् ।

सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७.६ म्याग्निट्यूडको विनाशकारी भूकम्प जाँदा २ हजार ४०० जनाको मृत्यु भएको थियो ।


क्लिकमान्डु