नाउपामा विवाद: भाइरल बन्यो चौधरीले गाएको गीत-सासूज्यू सासू, खायो मेरो मासु हजुरकै नक्कली छोरीले…



‘सासूज्यू सासू, खायो मेरो मासु हजुरकै नक्कली छोरीले
आफूचाँही ठिटासँग गफ लगाउँछे, चुलोमा आगो फुक्न मलाई पठाउँछे…’

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशमलाल चौधरीको स्वर र संगीतमा रहेको यो गीत सेयर गरिरहेका छन् । केही वर्षअघि बनेको उक्त गीतको निर्देशन भने उनकी पत्नीसमेत रहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले गरेका छन् ।

पछिल्लो समय रेशम र रञ्जिताबीचको विवादले पार्टी फुट नजिक पुगेको छ । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका चौधरी कांग्रेस गठबन्धनको रहेका बेला राष्ट्रपतिबाट आममाफी पाएर छुटेका थिए । रञ्जिताले भने चौधरी जेलमा रहेको बेला आफूले पार्टी बनाएको बताउँदै आएकी छन् ।

पछिल्लो समय भने चौधरी पत्नी रञ्जिताको कारण तनावमा परिरहेको समाचारहरु सार्वजनिक हुँदा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यो गीत सेयर गरिरहेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीबीच पछिल्लो समय एमाले माओवादीसहितको गठबन्धनमा जाने कि कांग्रेससँगको भन्नेमा विवाद छ । रन्जिता केन्द्रमा भएको नयाँ सत्ता गठबन्धनमै सहभागी भएर प्रदेशहरूमा सरकार बनाउन चाहिन्छन् भने रेशम कांग्रेससँगै रहन चाहन्छन् । श्रीमान श्रीमतीबीचको विवादले पछिल्लो समय पार्टी विभाजनउन्मुख भएको छ ।

चौधरीले तीन महिनादेखि आफूले खाना नखाएको र आत्महत्या गर्ने परिस्थितिमा पुगेको बताइरहेका छन् ।

‘कहिले दुई चम्चा खान्छु, कहिले के कहिले के । आत्महत्या गर्ने परिस्थितिसम्म पुगाइसके । केही पनि मान्दै मान्दैनन् । केन्द्रीय समितिको निर्णय नमान्ने भन्छन् । पार्टी कसले चलाइरहेको छ ? पदीय लोलोपता धेरै भयो । अब २३ र २४ गतेको बैठकले कारबाही गर्छ,’ उनले भनेका छन्, ‘सम्झौता भयो भने पार्टी मिलाउने हो, नत्र छानिछानी कारबाही गर्ने जसले गल्ती गर्‍यो उ कारबाहीमा पर्‍यो ।’

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई प्रदेश अध्यक्षमाथि कारबाही भएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गण्डकी अध्यक्ष राजन गुरुङ र वाग्मती अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पदमुक्त गरी पार्टीबाट निष्कासन गरेकी छन् ।

पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि सोमबार पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै दुवै जनालाई कारबाही गरिएको अध्यक्ष श्रेष्ठद्वारा सोमबार जारी पत्रमा उल्लेख छ ।

चौधरीले सुदूरपश्चिम प्रदेश सरकार ढल्यो भने चार जनाको हत्या हुन सक्ने चेतावनी दिएको आरोप लागेको छ । पार्टीका केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूहरुमाथि ज्यान मार्ने धम्की आएको दाबी गरेका छन् । र्दै उनले सुदूरपश्चिम प्रदेश सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्छ भनेर पार्टीका संरक्षक रेशमलाल चौधरीले धम्की दिएको बताए । ‘यदि सुदूरपश्चिममा कमल बहादुर शाहको सरकार ढल्यो भने तिमी चारै जनाको हत्या पनि हुनसक्छ भनेको हुनाले आज ममाथि भौतिक आक्रमण भएकाले मैले यसलाई सामान्य लिएको छैन,’ उनले भने ।


क्लिकमान्डु