सहकारीको समस्या समाधान गर्ने सरकारको मात्रै दायित्व हो भन्ने दृष्टिकोण बनाउनु हुँदैनः मन्त्री अधिकारी



काठमाडौं । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको समस्या समाधान गर्ने सरकारको मात्रै दायित्व हो भन्ने दृष्टिकोण बनाउन नहुने बताएका छन् ।

६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले यस्तो बताएका हुन् । सहकारीसँग सरकार,सहकारी र सर्वसाधरण जोडिएकाले समस्या समाधान गर्ने सरकारको मात्रै दायित्व हो भन्ने दृष्टिकोण बनाउन नहुने उनको तर्क छ ।

‘सहकारी भित्र देखिएका अहिलेका समस्याहरु समाधान गर्नका लागि कहाँ–कहाँबाट त्रुटी भयो सबैले खोज्न जरुरी छ’ उनले भने ‘सहकारी भनेको सामुहिक भावनाबाट अघि बढ्ने हो भने सरकार,सहकारी र सर्वसाधरण जोडिएका छन् । त्यस कारण यो सरकारको मात्रै हो भनेर हेर्ने दृष्टिकोण बनाउनु हुँदैन । हाम्रो पनि दायित्व हो । हामीले पनि पहल गर्नुपर्छ भनेर लाग्यौं भने मात्रै समाधान हुन्छ ।’

उनले सहकारीहरु ऐन, नियम पूरा गरेर दर्ता गर्ने तर सहकारीको उद्देश्य अनुसार काम नगर्दा सहकारीमा समस्या आएको बताए । उनले सहकारीहरुले सबैभन्दा पहिला सहकारीको उद्देश्य पूरा गर्न लाग्नुको विकल्प नभएको बताए । राष्ट्रिय सहकारी अन्तर्गत भएका सबै निकायहरुमा कमजोरी गर्नेलाई कारबाही गर्ने धारणा राखे ।

कार्यक्रममा मन्त्री अधिकारीले एउटै उद्देश्य भएका एक भन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने गरी सरकारले नीति बनाउने बताए ।

उनले २०७७ सालमा नै एउटै व्यक्ति एउटै उद्देश्य भएका एक भन्दा बढी सहकारीमा बस्न नपाउने भनिएको भएपनि अहिले चारवटा भन्दा बढीमा रहेको भन्दै यसलाई नियन्त्रण गर्ने नीति ल्याइने बताए ।

मन्त्री अधिकारीले गलतलाई गलत र सहीलाई सही भन्ने प्रवृत्ति सरकारले मात्रै नभइ सहकारी अभियान्ताले पनि पालना गर्नुपर्ने आवश्यकता देखिएको बताए । उनले सहकारी भित्र देखिएका अहिलेका समस्या समाधान गर्नको लागि अहिलेसम्म भएका त्रुटीबारे खोजि गर्न जरुरी रहेको बताए ।

उनले कमजोरी गर्नेलाई सरकारले कारबाही गरेरै छोड्ने बताए । सहकारी स्थानीय तहमा दर्ता गर्ने प्रावधानसँगै खारेज गर्ने अधिकार पनि दिन आवश्यक रहेको उनको बुझाइ छ ।


क्लिकमान्डु