सञ्चय र नागरिक लगानी कोषको पैसा चाँडै फिर्ता गर्छौं: निगम अध्यक्ष अधिकारी



काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले अन्तर्राष्ट्रिय निकायहरुसँग सस्तो ब्याजमा कर्जा लिएर सञ्चय कोष र लगानी कोषको महँगो ब्याजको पैसा फिर्ता गरिने बताए ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै अध्यक्ष अधिकारीले निगमले २०७५ असार १४ गते र २०७५ साउन ११ गते गरी दुईवटा वाइडबडी र न्यारोबडी जहाज नेपाल ल्याउनको लागि सरकारको जमानीमा कर्मचारी सञ्चय कोषबाट १२ अर्ब र नागरिक लगानी कोषबाट पनि १२ अर्ब रुपैयाँ महँगो ब्याजमा ऋण लिएर जहाज खरिद गरेको बताए ।

निमगले महँगो ब्याजदर घटाउनको लागि अन्तर्राष्ट्रिय निकायहरुसँग १ खर्ब ३५ अर्बको ऋण सहयोग माग गरेको उनले जानकारी दिए । उनले उक्त लोन २ वा ४ प्रतिशतमा पाइयो भने मँहगो ब्याजदरको पैसा र्फिता गर्ने बताए ।

अध्यक्ष अधिकारीले नेपाल वायुसेवा निगमको काठमाडौंको न्युरोडमा १४ रोपना ७ आना,सिनामंगलमा ३४ रोपना १३ आना जग्गा तथा अन्य १३ जिल्लामा पनि जग्गा रहेको बताए । उनले न्युरोड र सिनामंगलका जग्गाहरुमा निगमको आधुनिक भवनहरु बनाउने योजना रहेको बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५० वर्ष पुरानो घामपानी छेक्ने मात्रै ह्याङ्गर भएकाले आइका र आइकाओको मापदण्डअनुसार निगमल अत्याधुनिक प्रविधिको आफ्नै ह्याङ्गर बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

त्यसको लागि निगमले डिपीआर गरेर सरकारलाई पेश गरेर आर्थिक सहयोग जुटाईदिन माग समेत गरेको बताए । उनले यो विषयमा लगानीबोर्ड पनि चासो राखेको पनि बताए । दुवैतिरको भवन बनाउँदा करिव १० अर्ब भन्दा बढी रकम लाग्ने अनुमान रहेको बताए ।

निमगको ह्याङ्गर बनाउनको लागि मात्र ५ अर्ब बढी रकम लाग्ने अनुमान रहेको उनले बताए ।

उनले निगम सुधारको लागि निगम व्यवस्थापनले सरकारलाई र सरकारले निगमलाई आरोप प्रत्यारोप गरेर जिम्मेवारीबाट पन्छिने प्रवृत्ति देखापरेको बताए ।

निगम सुधारको लागि व्यवसायिक योजनाहरु बनाउने चरण रहेको भन्दै बुद्धिष्ट सर्किटको लागि जहाजहरु लिजमा लिएर भए पनि काठमाडौं–ब्याङ्गलोर,कोल्बो–काठमाडौं उडान गर्ने योजना रहेको उनले बताए ।

जहाज लिजमा आएपछि भैरहवा-कोलम्बो उडानको लागि पनि योजना बनाएको उनले बताए ।


क्लिकमान्डु